कता जाँदैछ अर्थतन्त्र ? यस्ता छन् मंसिरसम्मका मूख्य आर्थिक सूचक



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ५ महिना अर्थात् मंसिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.९३ प्रतिशत छ ।

आयात ९.६ प्रतिशतले घटेको छ भने निर्यात ५.१ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०.९ प्रतिशतले र अमेरिकी डलरमा ६.४ प्रतिशतले बढेको छ ।

शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोड रुपैयाँले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको बैंकिङ कारोबारमा आधारित खर्च ३ खर्ब ५ अर्ब ६६ करोड रुपैयाँ र राजस्व परिचालन ३ खर्ब १ अर्ब २३ करोड रुपैयाँ छ ।

विस्तृत मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२.५ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.५ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ७.९ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.६ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर १३.१ प्रतिशत छ ।

उपभोक्ता मुद्रास्फीतिः २०७७ मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.९३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५ प्रतिशत थियो ।

थोक मुद्रास्फीतिः २०७७ मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.४६ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.९८ प्रतिशत थियो ।

तलव तथा ज्यालादर सूचकाङ्कः २०७७ मंसिरमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ०.९९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १०.०४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क १.२८ प्रतिशतले बढेको छ ।

निर्यातः आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले वृद्धि भई ५० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.६ प्रतिशत र ०.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५५.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ ।

आयातः आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल वस्तु आयात ९.६ प्रतिशतले घटेर रु.५२५ अर्ब ५० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.२ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १.१ प्रतिशत, २४.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा कच्चा सोयाविन तेल, चामल, एम.एस. बिलेट, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा,कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा,यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

विप्रेषण आप्रवाहः  समीक्षा अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई रु.४१६ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो ।

चालु खाता:  समीक्षा अवधिमा चालु खाता रु.२१ अर्ब ३२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६५ अर्ब १३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चितिः  २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.२ प्रतिशतले वृद्धि  भई २०७७ मंसिर मसान्तमा रु.१४७४ अर्ब ३४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा ७.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ५४ करोड पुगेको छ।

वित्त घाटा/बचतः आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.१२ अर्ब ७२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रु.६२ अर्ब २३ करोडले बचतमा रहेको थियो ।

खर्च तथा राजस्वः समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी हुन बाँकी चेक बाहेक) संघीय सरकारको कुल खर्च रु.३०६ अर्ब ६६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.२८७ अर्ब ८४ करोड रहेको थियो ।

समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) रु.३०१ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन रु.३३७ अर्ब ७१ करोड रहेको थियो ।

नगद मौज्दातः २०७७ मंसिरमसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२४५ अर्ब ७० करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ ।

सरकारी वित्त स्थिति प्रदेश सरकारः आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति रु.६१ अर्ब २७ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी रु.३७ अर्ब ४३ करोड हस्तान्तरण गरेको छ । यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट रु.२३ अर्ब ८४ करोड परिचालन गरेका छन्। यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च रु ३२ अर्ब १७ करोड रहेको छ ।

मौद्रिक स्थितिः  आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा विस्तृत मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ३.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ मंसिर मसान्तमा विस्तृत मुद्राप्रदाय २२.५ प्रतिशतले बढेको छ ।

कुल आन्तरिक कर्जाः आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल आन्तरिक कर्जा ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ मंसिर मसान्तमा यस्तो कर्जा १६.३ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालनः समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २१.६ प्रतिशतले बढेको छ ।

कर्जा प्रवाहः समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १२.९ प्रतिशतले बढेको छ ।

तरलता व्यवस्थापनः  आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा रिभर्स रिपोमार्फत् रु.६० अर्ब र निक्षेप संकलन उपकरणमार्फत् रु.१०१ अर्ब ८० करोड गरी कुल रु.१६१ अर्ब ८० करोड तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप संकलन उपकरणमार्फत रु.३० अर्ब तरलता प्रशोचन भएको थियो भने रिपोमार्फत् रु.३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधामार्फत रु.५० अर्ब ५५ करोड गरी कुल रु.९० अर्ब ७ करोड तरलता प्रवाह गरिएको थियो ।

ब्याजदरः  २०७६ मंसिरमा ९१-दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर १.६४ प्रतिशत रहेकोमा २०७७ मंसिरमा ०.६० प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ मंसिरमा ०.७८ प्रतिशत रहेकोमा २०७७ मंसिरमा ०.१० प्रतिशत कायम भएको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर-बैंक ब्याजदर २०७७ मंसिरमा ०.१३ प्रतिशत कायम भएको छ ।

मर्जर/प्राप्तिः  वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ मंसिर मसान्तसम्म कुल २११ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १५९ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएका छन् ।

वित्तीय पहुँचः  कुल ७५३ स्थानीय तहमध्ये २०७७ मंसिरसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७६ मंसिरसम्म ७४३ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

 


क्लिकमान्डु