कात्तिकसम्म २० अर्बले बचतमा गएको चालु खाता मंसिरमा २१ अर्बले घाटामा



काठमाडौं । कात्तिक महिनासम्म २० अर्ब रुपैयाँले बचतमा रहेको चालु खाता एकाएक घाटामा आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनासम्ममा २१ अर्ब ३२ करोड रुपैयाँले चालु खाता घाटामा थियो । अघिल्लो वर्षको मंसिर महिनासम्म अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको छ ।

कात्तिक महिनासम्म चालु खाता २० अर्ब रुपैयाँले बचतमा थियो ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोख्रेल आयात र खर्च बढेको कारण चालु खाता घाटामा गएको बताउँछन् ।

कात्तिक महिनासम्ममा ४ खर्ब २ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । मंसिर महिनासम्म आइपुग्दा ५ खर्ब २५ अर्ब रुपैयाँको आयात भएको छ । मंसिर महिनामा मात्र १ खर्ब २३ अर्ब रुपैयाँको वस्तु आयात भएको देखिएको हो ।

चालु खाता मंसिरदेखि घाटामा गएपनि शोधानान्तर भने बचतमा छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८९ करोड ६५ लाखले बचतमा छ । कात्तिक महिनासम्म भने १ खर्ब १० अर्बले शोधानान्तर बचतमा थियो ।


क्लिकमान्डु