मंसिर महिनामा मात्रै ७९ अर्ब रेमिट्यान्स आयो, ५ महिनामा ४ खर्ब १६ अर्ब



काठमाडौं । मंसिर महिनामा मात्र ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ५ महिनाको वर्तमान आर्थिक स्थितीअनुसार ५ महिनासम्ममा ४ खर्ब १६ अर्ब रुपैयाँको रेमिट्यान्स आएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि नै रेमिट्यान्सको बृद्धिदर निकै नै राम्रो देखिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्षको ५ महिनामा १०.९ प्रतिशतले रेमिट्यान्स बृद्धि भएको हो ।

रेमिट्यान्स बढेपनि बैदेशिक रोजगारीमा जानेको संख्या भने कोभिडको कारण घटेको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ५९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो ।


क्लिकमान्डु