२ ऋणीबाट २ अर्ब उठाउन कृषि विकास बैंकले धितो लिलाम गर्ने



काठमाडौं । करिब २ अर्ब रुपैयाँ उठाउन कृषि विकास बैंक सक्रिय रुपमा अगाडि आएको छ ।

कर्पोरेट ऋण अन्तर्गत २ वटा ऋणीलाई दिएको ठूलो रकमको ऋण उठाउन बैंकले धितो लिलामीको प्रक्रिया अगाडि बढाएको छ ।

बैंकले द ल्याण्डमार्क अपार्टमेन्ट प्रालिको नाममा रहेको ऋण नउठेपछि उसको नाममा रहेको होटल माउन्टेन प्रालि सहित धितोमा रहेको १ अर्ब ३५ करोड रुपैयाँको धितो लिलामीमा राखेको छ ।

यस्तै बैंकले बिएन सुपरमार्केट प्रालिको पनि लामो समयदेखि नउठेको ऋण उठाउन बैंकले लिलामीको प्रक्रिया अगाडि बढाएको छ ।

बिएन सुपरमार्केटको नाममा रहेको ऋण उठाउनको लागि बैंकले ५१ करोड २६ लाख रुपैयाँ न्यूनतम मूल्य राखेर धितोमा रहेको घरजग्गाको लिलामीको प्रक्रिया अगाडि बढाएको छ ।

होटेल माउन्टेन र ल्याण्डमार्क अपार्टमेन्टका सञ्चालक रविन्द्रमान मल्ल र उनकी श्रीमति मिनर्भा मल्ल दम्पत्तिले बैंकलाई ८७ करोड ८५ लाख ६६ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ ।

२०७२ सालमा मल्लले ६२ करोड २७ लाख ६५ हजार रुपैयाँ तिरिसक्नुपर्ने थियो । उक्त रकम नतिरेपछि अहिले बढ्दै बढ्दै गएर ८७ करोड ८५ लाख रुपैयाँ पुगेको हो ।

मल्ल दम्पत्ति यसअघि नै ऋण तनिरेर कर्जा सूचना केन्द्रको कालोसूचीमा परिसकेका व्यक्ति हुन् ।

मल्ल भने बैंकको ऋण तिर्नभन्दा अदालतको आदेश ल्याएर लिलामी प्रक्रिया रोक्न लागि परेका छन् । यसअघि ३ पटक अदालतबाट लिलामी प्रक्रिया रोक्ने आदेश ल्याउन सफल उनी अहिले पनि सहजै त्यस्तो आदेश ल्याउन लागि परेका हुन् ।

कृषि विकास बैंकको मात्रै होइन, रविन्द्रकी मिनर्भा र छोरा सार्थक मल्लका नाममा माउन्टेन प्लाजा धितो राखेर ०६४ मा ग्राण्ड बैंकबाट लिएको १७ करोड रुपैयाँ पनि तिरेका छैनन् ।

त्यतिमात्रै होइन, ल्याण्डमार्क र माउन्टेन होटेल देखाएर मल्लले सर्वसाधारणसँग पनि करोडौं रुपैयाँ ऋण लिएका थिए । त्यो ऋण पनि उनले तिरेका छैनन्।

‘मल्लका नाममा काठमाडौं जिल्ला प्रसासन कार्यालयले दर्जनौ पटक पक्राउ पुर्जी जारी गरेको छ तर प्रहरीले हालसम्म उनलाई फक्राउ गरेको छैन,’ मल्लबाट ठगिएकाहरु भन्छन् ।

राष्ट्रिय सतर्कता केन्द्रले मल्ललाईं किन कारवाही नगरेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई प्रष्टिकरणसमेत लिइसकेको छ । तर, पनि प्रहरीले पक्राउ गरेको छैन ।

मल्ल बिरुद्ध करौडौ रुपैयाँ बराबरको बाउन्स चेक जारी गरेको भन्दै हनुमान ढोका प्रहरी परिसरमा दर्जनौ उजुरी छन् ।


क्लिकमान्डु