भारतमा कुखुरा र चरा मरेसँगै नेपाल सरकारले अपनायो उच्च सतर्कता
काठमाडौं । भारतका विभिन्न राज्यमा कुखुरा र चरा मर्न थालेपछि नेपाल सरकारले उच्च सर्तकता अपनाउन पूर्व तयारी शुरु गरेको छ । भारतको विभिन्न राज्यमा कुखुरा तथा चरा मर्न थालेसँगै सरकारले उक्त रोगको रोकथाम तथा नियन्त्रण लागि पूर्व तयारी थालेको हो ।
भारतको केरला, हरियाणा, हिमाञ्चल, मध्यप्रदेश, राजस्थानलगायत विभिन्न राज्यमा कुखुरा, हाँस र चरा मरेकाले तराई भेगमा उच्च जोखिम देखिएको छ । त्यसैले सरकारले विशेष सावधानी र सतर्कता अपनाएको कृषि तथा पशुपन्छी मन्त्रालयको मातहतमा रहेको पशु सेवा विभागले जनाएको छ ।
विभागले रोकथाम तथा जोखिम नियन्त्रणका लागि विभागअन्तर्गतका सबै निकाय रोग नियन्त्रण शाखा, क्वारेन्टिन, अनुगमन शाखा र रोग नियन्त्रण शाखालाई सतर्क रहन निर्देशन दिएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए ।
उनका अनुसार विभागअन्तर्गत रहेको ८ वटा क्वारेन्टिन र २४ वटा चेकपोस्टमा निर्देशन दिई सतर्कता अपनाउन निर्देशन दिएको बताए ।
‘भारतको विभिन्न राज्यमा देखिएको कुखुरा र चरा मरेको समाचार प्रकाशन भएसँगै रोग भित्रिन नदिनका लागि उच्च सतर्कता अपनाउन तयारी गरेको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘यदि नेपालमा पनि देखिन थालेको अवस्थामा विभिन्न निकायसँग समन्वय गरी भित्रिन नदिने र समयमै नियन्त्रण गर्नेछौं ।’
साथै, आवश्यक प्रयोगशाला र टेस्ट किटहरू, नियन्त्रणका लागि चाहिने पीपीई, मास्कलगायत अन्य विभिन्न सामग्रीको लागि पूर्व तयारी भएको उनको भनाइ छ ।
त्यसैगरी, भारतबाट आयात हुने पशु तथा पशुजन्य पदार्थहरू भित्रिन नदिन पशु स्वास्थ्य तथा पशु सेवा ऐनको प्रावधान अनुसार रोक लगाएको जनाएको छ । तर, नेपालमा भने हालसम्म कुनै बर्डफ्लु नदेखिएको उनको भनाइ छ ।
हालसम्म पनि भारतमा बर्डफ्लुले नै मरेको हो भने आधिकारिक पुष्टि नभएकाले अन्य रोगले पनि मर्न सक्ने उनको अनुमान छ ।
‘उक्त राज्यमा बर्डफ्लुले नै कुखुरा तथा चराहरू मरेको हो भन्ने त्यस राज्यले आधिकारिक पुष्टि गरेको छैन । तर, यदि त्यहाँ बर्डफ्लुको आधिकारिक पुष्टि भएमा स्वतः नेपालमा भित्रिने पशुजन्य सामग्रीको प्रतिबन्ध हुन्छ,’ उनले भने ।
त्यस्तै, नेपालमा भारतबाट पशुजन्य वस्तु धेरै आउँदैनन् । चल्ला आउनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै आउनुपर्छ । त्यसका लागि विभागले सिफारिस नदिएसम्म ल्याउन मिल्दैन ।
साथै, अण्डा र मासु प्रायः भारतबाट नआउने र नेपालमा उत्पादन भएको कुखुराले नै बजार धान्ने उनले बताए ।
तर, कुखुराको मासु नभित्रिए पनि भारतबाट आयात गर्नेमा कुखुराको दाना, अण्डाको ट्रे र कच्चा पदार्थहरू बढी भित्रिन्छन् । त्यसैले नाकामा रहेका कार्यालयलाई विशेष जाँचपासमा ध्यान दिई पोजेटिभ देखिएमा भारततर्फ पठाइने र नेगेटिभ भए मात्रै भित्रिन दिने उनको भनाइ छ ।
भारतमा कस्तो प्रभाव ?
उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मंगोलियाबाट बसाइसराई गर्दै आएका झन्डै २४ सय चराहरू खोया हाँसहरू मरेको पाइएको बीबीसी हिन्दीले जनाएको छ ।
त्यस्तै केरला राज्यमा समेत १२ हजार हाँसहरू मरेपछि राज्यको मापदण्ड अनुसार विभिन्न ३६ हजार पन्छीहरू मारिएको छ । मध्य प्रदेशमा पछिल्लो १० दिनमा सयौँ कौवाहरू मरेका पाइएकामा हालै बकुल्ला र सुगाहरू समेत त्यसमा थपिएका छन् ।
इन्दोर शहरमा ५० वटा मरेका कौवाहरू भेटिएपछि अधिकारीहरूले आसपासमा रुघाखोकी र ज्वरो आएका मानिसहरूको जाँच गरेका थिए । हरियाणा राज्यमा समेत हजारौँ पालिएका पन्छी मरे पनि त्यो बर्डफ्लू नै भएर मरेको भन्ने कुनै पुष्टि भएको छैन । तर, उक्त राज्यको छिमेकी राज्य गुजरात र राजस्थानलाई समेत उच्च निगरानीमा राखिएको जनाएको छ ।