मेलम्ची खानेपानी आयोजनाः पानी आउने टुंगो छैन वितरण गर्ने हतारो



काठमाडौं । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा पुरानो पाइपबाट वितरणका लागि तयारी अघि बढाएको हो ।

निर्देशनालयको जिम्मेवारी सुन्दरीजलमा पानी झरेपछि उपत्यकामा समानुपातिक वितरण गर्न पूर्वाधार तयार गर्ने भएकाले त्यसैको काम भइरहेको निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताए । उनका अनुसार धेरै काम सकिए पनि अहिले बाँकी काम भइरहेको छ । उनले भने ‘पाइप निर्माण भएका ठाउँमा नयाँ र नभएका स्थानमा पुरानो पाइपबाटै पानी वितरण गर्ने योजना छ ।’

पानी वितरणका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण सकिएका ठाउँमा परीक्षण भइरहेको सूचना अधिकारी प्रजापतिले जानकारी दिए ।

। निर्देशनालयले नयाँ निर्माण भएका पाइपहरुमा चुहावट छ÷छैन भन्ने हेरिरहेको छ । कतिपय सानो क्षेत्रमा ट्याङ्करको पानीबाट परीक्षण भइरहेको छ । ठूलो क्षेत्रमा गर्न बाँकी भएको र त्यहाँ पानी उपत्यकामा खसेपछि परीक्षण हुने उनको भनाइ छ । उपत्यकामा मेलम्चीको पानी आएपछि पुरानो पाइपबाट वितरण हुँदा नयाँ पाइपको परीक्षण सँगसँगै अघि बढाइनेछ ।

समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७÷१७ करोड गरी जम्मा ५१ करोड लिटर उपत्यकामा आउनेछ । पहिलो चरणमा आउने दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ ।

यो पानी चक्रपथभित्र सबै ठाउँमा वितरण हुन्छ । पहिलो चरणमा नै पानी मध्यपुर, कीर्तिपुरमा समेत वितरण हुने बताइएको छ । कपनमा पनि पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको छ । उनले भने ‘ चक्रपथ बाहिर अहिले यी तीन ठाउँमा मात्रै पानी वितरण हुनेछ ।’

निर्देशनालयले पानी वितरणका लागि आवश्यक पाइपलाइन र नौ स्थानमा ट्याङ्की निर्माण गरिसकेको जनाएको छ । चक्रपथभित्र पाइपलाइन निर्माणका क्रममा भएका स्थानमा पुरानो पाइपबाट पानी वितरण हुने सूचना अधिकारी प्रजापतिले जानकारी दिए ।

चक्रपथभित्र नयाँ पाइपलाइन नभएका स्थानमा स्वयम्भू, ताहचल, पानीपोखरीलगायतका क्षेत्र पर्छन् । यी स्थानमा गत साउनमा ठेक्का सम्झौता गरिएको र चालु आवभित्रै निर्माण सम्पन्न गरिने उनको भनाइ छ ।

उपत्यकामा १० स्थानमा ट्याङ्की निर्माण गर्ने योजना बनाएको भए पनि अहिलेसम्म नौ स्थानमा मात्रै निर्माण सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

भक्तपुरको कटुञ्जेमा ट्याङ्की निर्माणको क्रममा रहेको प्रजापतिले बताउनुभयो । सो स्थानमा जग्गाका कारणले ट्याङ्की र पाइपलाइन दुवै निर्माण लामो समयसम्म अघि बढ्न सकेको थिएन । पाइपलाइनमा अझै विवाद भए पनि वैकल्पिक बाटोबाट निर्माण भइरहेको उहाँले जानकारी दिए ।

मेलम्ची खोलाबाट सुरुङ हुँदै सुन्दरीजलको प्रशोधन केन्द्रसम्म पानी झार्न आवश्यक संरचना निर्माणको काम समितिको हो । सुन्दरीजलमा प्रशोधित पानी घरघरसम्म पुर्याउन संरचना निर्माण निर्देशनालयको हो भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पानी वितरण गर्नेछ ।

सुन्दरीजलबाट मुख्य वितरण लाइनबाट ट्याङ्की र ट्याङ्कीबाट वितरण पाइपमार्फत घरघरमा पानी पुग्ने उहाँले जानकारी दिए । मुख्य चक्रपथ वरिपरि वितरण लाइन रहेका छन्, त्यहीँबाट ट्याङ्कीसम्म पानी जानेछ । ट्याङ्कीबाट वितरण लाइन हुँदै घरघरमा पानी जाने उनले बताए ।

निर्देशनालयले निर्माण गरेको ट्याङ्की काठमाडौँमा लाजिम्पाट, बाँसबारी पानीपोखरी, बालाजु, महाँकाल, ललितपुरको खुमलटार र भक्तपुरको कटुञ्जेलगायतका स्थान रहेका छन् । सरकारले गत असार महिनामा सुरुङको परीक्षण गर्दा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ ।

सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए ।

उनका अनुसार त्रुटि सच्याउने कामसँगै सुरुङमा पुनरावलोकनको काम भइरहेको छ । सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने उनको भनाइ छ ।

मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ । सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने उनले जानकारी दिए । पानीभित्र भरिएर केही दिन राख्दा बल्ल कतै समस्या छ÷छैन थाहा हुने र समस्या छैन भन्ने भएपछि मात्रै पानी झारिनेछ ।


पुष्प दुलाल