चुनावी नतिजा अस्वीकार गर्दै अमेरिकामा डोनाल्ड ट्रम्पले हिंसा भड्काए, सामाजिक सञ्जालले हटायो सन्देश



वासिङ्टन । अमेरिकी जनताले दिएको मतलाई अस्वीकार गरेर अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसा भड्काएका छन् । ट्रम्पको उक्त कदमलाई लिएर संसारभर नै चर्को आलोचना भएको छ ।

ट्रम्पका समर्थकले सडकमा निस्किएर हिंसात्मक प्रदर्शन सुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टन डीसीमा कर्फ्यु लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाको स्थानीय समयअनुसार बुधबार साँझदेखि बिहीबार बिहानसम्म कर्फ्यु लगाइएको छ ।

ट्रम्प समर्थकले बुधबार क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका थिए । अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका हुन् । अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार अहिले क्यापिटल हिल्समा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बुधबार अमेरिकी कंग्रेसले डेमोक्रेटक उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गर्ने कार्यक्रम थियो । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीका अनुसार बुधबार राथि इलेक्टोरल भोटको गणना गर्ने कार्यक्रम थियो । १२ भोटको गणना समेत भइसकेको थियो ।

राष्ट्रपति ट्रम्पका समर्थकहरुले चुनाव रद्द हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप पनि भएको विवरण अमेकिरी टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको छ । शान्ति सुरक्षामा खतार पैदा भएपछि नेसनल गार्डका झण्डै २७०० जवानलाई परिचालन गरिएको छ ।

सञ्चार माध्यमहरुका अनुसार क्यापिटल हिल्समा हिंसा मच्चाएको आरोपमा प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ । वासिङ्टन डीसी महानगरीय प्रहरीका अनुसार ५ थान बन्दुक पनि बरामद गरिएको छ । प्रहरी प्रमुख रोबर्ट कोन्टीका अनुसार पक्राउ पर्ने व्यक्तिहरु डीसी क्षेत्रका नभएको बताइएको छ ।

बुधबार साँझ वासिङ्टन डीसीमा भएको झडपमा परी एक महिलाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार झडपमा प्रहरीको गोली लागी एक जना महिला घाइते भएकी थिइन् । स्थानीय अस्पतालमा उपचाररत उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्यापिटल हिल्समा हिंसा मच्चिएपछि फेसबुक, युट्युब र ट्विटरले ट्रम्पको भिडियो सन्देश हटाइदिएको छ ।
फेसबुकले भिडियो हटाउँदै भनेको छ ‘हामीले सन्तुलन कायम गर्नका लागि हटायौं किनकी यसले हिंसा घटाउनेभन्दा पनि बढाउने खतरा थियो ।’

यस्तै ट्रम्पले पुनः चुनावी नतिजाबारे गलत दाबी गर्दै सेयर गरेको भिडियो सन्देशलाई युट्युबले हटाइदिएको छ ।

यस्तै ट्रम्पका उपराष्ट्रपति माइक पेन्सले हिंसाको कहिल्यै जित नहुने भन्दै वासिङ्टनमा भएको प्रदर्शनको निन्दा गरेका छन् । उनले हिंसाको कहिल्यै जित हुँदैन भन्दै कानूनको सम्मान गर्न ट्रम्पलाई ध्यानकर्षण गराएका छन् । उनले बुधबारको दिनलाई अमेरिकी इतिहासको कालो दिन भएको पनि बताएका छन् ।


पुष्प दुलाल