नेपालमा होन्डा मोटरसाइकल र स्कुटरको व्यापार २ अर्बले घट्यो, व्यापारमा डियोको हिस्सा ३०%



काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकलको आधिकारिक बिक्रेता स्याकार कम्पनीको आम्दानी गत वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँले घटेको छ । सन् २०१९ मा १४ अर्ब १८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२० मा आम्दानी ११ अर्ब ४५ करोड ४० लाख रुपैयाँमा सीमित हुने प्रक्षेपण गरेको छ ।

कम्पनीले सन् २०१८ मा १३ अर्ब ९७ करोड ४० लाख रुपैयाँ र सन् २०१७ मा १२ अर्ब ५५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको अटोमोबाइल इन्डष्ट्रीमा राम्रो उपस्थिती छ । होन्डा कम्पनीका दुई पांग्रे सवारी साधन, यात्रुबाहक सवारी साधन र होन्ड मोटर कम्पनीको पावर प्रडक्टहरु कम्पनीले बिक्री गर्दै आएको छ ।

नेपालको दुई पांग्रे सवारी साधनको बजारमा राम्रो उपस्थिती रहेको कम्पनीले सन् २०२० मा कम्पनीको कुल आम्दानीको ९० प्रतिशत हिस्सा दुई पांग्रे सवारी साधन मात्रै थियो । साथै कुल बजारमध्ये दुई पांग्रे सवारी साधनको हिस्सा ३० प्रतिशत रहेको कम्पनीको दावी छ ।

कम्पनीले आगामी केही समयसम्म दुई पांग्रेको बजारमा स्थायित्व रहने समेत जनाएको छ । प्रतिष्पर्धी कम्पनीहरु बजाज र यामाहाको बजारमा राम्रो उपस्थिती रहँदा रहँदै पनि दुई पांग्रे सवारी साधनको बजारमा स्याकार कम्पनीको राम्रो उपस्थिती भएको दावी गरेको छ । जसमा कम्पनीको कुल आम्दानीमा ३० प्रतिशत डियो प्रडक्टबाट मात्रै आम्दानी भएको कम्पनीको भनाइ छ ।

त्यसैगरी यात्रुबाहक सवारी साधनको हिस्सा सन् २०१७ मा ६ प्रतिशत रहेकोमा सन् २०२० मा आइपुग्दा २ प्रतिशतमा सीमित भएको छ । जबकी पछिल्लो ४ वर्षयता डियोको आम्दानी कम्पनीको कुल आम्दानीमा ३० प्रतिशत रहँदै आएको छ ।

कम्पनीका अनुसार सन् २०१६ देखि २०१८ सम्ममा बिक्री २२ प्रतिशतले बढेको छ । जसबाट कम्पनीले सन् २०१८ मा १४ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । साथै कम्पनीले सन् २०२० मा कोरोना महामारीका बाबजुद पनि ११ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको छ ।

कोरोना महामारीका करण मुलुकमा लागू भएको लकडाउनका बाबजुद पनि कम्पनीको कुल आम्दानीमा दुई पांग्रे सवारी साधनको हिस्सा ९० प्रतिशत, स्पेयर र सर्भिस सेग्मेन्टको हिस्सा ७ प्रतिशत र बाँकी यात्रुबाहक सवारी साधन र पावर प्रडक्टको हिस्सा छ ।

कोरोना महामारीका कारण सार्वजनिक सवारी साधनप्रतिको आकर्षण घट्दै गएकाले आगामी दिनमा दुई पांग्रे सवारी साधनको बिक्री अझ बढ्ने कम्पनीको विश्वास छ । कम्पनीले चालुपँजी ३० प्रतिशतबाट बढाएर सन् २०२० मा ५१ प्रतिशत पुर्याएको छ ।

कम्पनीले सन् १९७६ मा प्राइभेट फार्मका रुपमा स्थापना भएको यो कम्पनी सन् २०११ मा प्राइभेट लिमिटेड कम्पनी, स्याकर ट्रेडिङ कम्पनीमा रुपान्तरण भएको थियो । कम्पनी होन्डाको दुई पांग्रे सवारी साधन, होन्डाको यात्रुबाहक सवारी साधन र होन्डा पावर प्रडक्टको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

कम्पनीका मुलुकभर १६ वटा सेल्स शोरुम तथा १११ वटा डिलर छन् ।

कम्पनीले हालै ९ अर्ब ९ करोड रुपैयाँ ऋणका लागि रेटिङ समेत गराएको छ । जसमध्ये फन्ड बेस्डमा सर्ट टर्म लोन ३ अर्ब ४ करोड रुपैयाँ, नन फन्ड बेस्ड सर्ट टर्म लोनमा ४अर्ब ४१ करोड रुपैयाँ र अनलोकेटेड सर्ट टर्म लिमिटमा १ अर्ब २८ करोड रुपैयाँका लागि कम्पनीले हालै रेटिङ गराएको छ । जसमा कम्पनीले ए२ रेटिङ प्राप्त गरेको छ ।


क्लिकमान्डु