यो आर्थिक वर्ष कुन बैंकले कति बिजनेश गरे ? (सूचिसहित)



काठमाडौं । कोरोना भाइरसको असर चौतर्फि पर्यो । अर्थतन्त्रको मुटु मानिने बैंकिङ क्षेत्रमा त झन् नपर्ने कुरै भएन । चैत ११ गतेदेखि साउन ६ गतेसम्म सरकारले गरेको लकडाउनको असरमा अधिकांश क्षेत्र अझै पनि छ ।

तर यसबीच अवधिमा केही वाणिज्य बैंकहरु भने व्यवसाय विस्तारमा छलाङ मारेका छन् ।

चालु आर्थिक वर्षको साढे ५ महिना (साउनदेखि पुस १७ गतेसम्म)मा नै वाणिज्य बैंकहरुले ७.६२ प्रतिशतले निक्षेप संकलन र ८.८१ प्रतिशतले कर्जा प्रवाह बढाएका छन् ।

राष्ट्र बैंकद्वारा उपलब्ध तथ्यांकअनुसार गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले २९ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन पुस १७ गतेसम्ममा २ खर्ब ५६ अर्ब ६ करोड रुपैयाँले बढेर ३१ खर्ब ६१ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

साथै, सो अवधिमा बैंकहरुको निक्षेप संकलन पनि २ खर्ब ६५ अर्ब ९३ करोड रुपैयाँले बढेको छ । गत असार मसान्तसम्म बैंकहरुले ३४ खर्ब ८९ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए भने पुस १७ गतेसम्म ३७ खर्ब ५५ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।

व्यवसाय विस्तारमा एनआइसी एशिया पहिलो

एनआइसी एशिया बैंकले निक्षेप संकलन र कर्जा विस्तारमा छलाङ मारेको छ । यो बैंकले प्रायः व्यवसाय विस्तारमा अब्बल स्थानमा रहने राष्ट्रिय वाणिज्य बैंकलाई समेत निक्षेप संकलन र कर्जा विस्तार दुवैमा पछि पारेको हो ।

साढे ५ महिनाको अवधिमा बैंकले निक्षेप संकलन ३३.७० प्रतिशत अर्थात् ७१ अर्ब ५ करोड रुपैयाँ र कर्जा प्रवाह ३२.९० प्रतिशत अर्थात् ५७.१६ प्रतिशतले बढाएको छ ।

असार मसान्तमा बैंकले निक्षेप संकलन २ खर्ब १० अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस १७ गतेसम्म बैंकले निक्षेप संकलन २ खर्ब ८१ अर्ब ८४ करोड रुपैयाँ र कर्जा प्रपाह २ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ पुर्याएको छ ।

गत असार मसान्तमा राष्ट्रिय वाणिज्य बैंक निक्षेप संकलनमा पहिलो स्थानमा थियो भने ग्लोबल आइएमइ बैंक दोस्रो र एनआइसी एशिया बैंक तेस्रो स्थानमा रहेको थियो ।

साथै, कर्जा प्रवाहतर्फ समेत असार मसान्तसम्म ग्लोबल आइएमइ पहिलो, एनआएसी दोस्रो र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंक रहेको थियो ।

तर चालु आवको पुस १७ गतेसम्म आइपुग्दा निक्षेप संकलन र कर्जा प्रवाहमा एनआइसी एशिया बैंकले व्यवसायिक छलाङ मारेको देखिन्छ ।

बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार सो अवधिमा निक्षेप संकलन तर्फ दोस्रो स्थानमा प्रभु बैंक (३० अर्ब), तेस्रो स्थानमा ग्लोवल आइएमई बैंक (२४ अर्ब) र चौथो स्थानमा एनसीसी बैंक (१९ अर्ब) रहेको छ ।

यस्तै, असार मसान्तदेखि पुस १७ गतेसम्ममा कर्जा प्रवाह तर्फ प्रभु बैंक दोस्रो (२३ अर्ब), तेस्रो स्थानमा नबिल बैंक (२१ अर्ब) र चौथो स्थानमा एनएमबी बैंक (१८ अर्ब) रहेको छ ।

साढे ५ महिनामा कुन बैंकको कतिले व्यवसाय बढ्यो ?

संचालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये २३ वटा वाणिज्य बैंकले असार मसान्तको तुलनामा ०.६७ प्रतिशतदेखि ३३.७० प्रतिशतसम्मले निक्षेप संकलन बढाएका छन् । साथै सो अवधिमा २२ वटा वाणिज्य बैंकहरुले ०.४९ प्रतिशतदेखि ३२.९० प्रतिशतसम्म कर्जा प्रवाह वृद्धि गरेका छन् ।

निक्षेप संकलनतर्फ

गत असार मसान्तयता पुस १७ गतेसम्म एनआइसी एशिया बैंकले ७१ अर्ब ५ करोड रुपैयाँ निक्षेप थप संकलन गरी पहिलो स्थान ओगट्न सफल भएको छ । गत असार मसान्तमा बैंकको निक्षेप संकलन २ खर्ब १० अर्ब ८४ करोड रुपैयाँ थियो ।


सो अवधिमा निक्षेप संकलन प्रभु बैंकले ३० अर्ब ८४ करोड रुपैयाँले निक्षेप थप गरी १ खर्ब ६७ अर्ब रुपैयाँ पुर्याएको छ । साथै, ग्लोबल आइएमई बैंकले २४ अर्ब २३ करोड रुपैयाँ निक्षेप थप गरी २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ पुर्याएको छ ।
सो अवधिमा ९ वटा वाणिज्य बैंकले १० अर्ब रुपैयाँभन्दा बढी र २० अर्ब रुपैयाँ कम निक्षेप थप बढाएका छन् । साथै, ११ वटा बैंकले १० अर्ब रुपैयाँभन्दा कम निक्षेप थप गरेका छन् ।

तर सो अवधिमा ४ वटा वाणिज्य बैंकको निक्षेप संकलन भने गत असार मसान्तको तुलनामा पुस १७ गतेसम्म घटेको छ ।

कर्जातर्फ

साढे ५ महिनाको अवधिमा व्यवसाय विस्तारमा सबैभन्दा अगाडि ५७ अर्ब १६ करोड रुपैयाँ थप कर्जा प्रवाह गरी एनआइसी एशिया बैंक छ । बैंकले गत असारमा १ खर्ब ७३ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

सो अवधिमा कर्जा विस्तारमा आक्रमक हुनेमा प्रभु बैंक दोस्रो नम्बरमा छ । बैंकले साढे ५ महिनाको अवधिमा नै २२ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत असार मसान्तसम्म बैंकले १ खर्ब ३ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । जसमा बैंकले २२.७४ प्रतिशतले वृद्धि गरी पुस १७ गतेसम्म १ खर्ब २६ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको हो ।

चालु आवको साढे ५ महिनामा कर्जा विस्तार बढी गर्ने बैंकहरुको तेस्रो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले गत असार मसान्तमा १ खर्ब ५३ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस १७ गतेसम्म बैंकले कर्जा प्रवाह १३.८६ प्रतिशत अर्थात् २१ अर्ब २० करोड रुपैयाँले वृद्धि गरी १ खर्ब ७४ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ ।

यसैगरी, सो अवधिमा ६ वटा बैंकले १० अर्ब माथि २० अर्ब रुपैयाँ कम, १० वटा बैंकले ५ अर्ब माथि १० अर्ब रुपैयाँसम्म र ५ वटा बैंकले ५ अर्ब भन्दा कम कर्जा प्रवाह थप गरेका छन् ।

तर यस अवधिमा ३ वटा वाणिज्य बैंकको कर्जा प्रवाह १ अर्ब रुपैयाँदेखि ४ अर्ब रुपैयाँसम्म घटेको छ ।

गत असार मसान्तदेखि पुस १७ गतेसम्म एनएमबी बैंकले १८ अर्ब ८५ करोड, मेगा बैंकले १२ अर्ब ६ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ११ अर्ब ७५ करोड रुपैयाँ, सिभिल बैंकले ११ अर्ब १४ करोड रुपैयाँ, सिद्धार्थ बैंकले १० अर्ब ९३ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १० अर्ब ३५ करोड रुपैयाँ कर्जा थप प्रवाह गरेका छन् ।

सो अवधिमा माछापुच्छ«े बैंकले १० अर्ब, नेपाल बैंकले ९ अर्ब २५ करोड, सानिमा बैंकले ९ अर्ब ७ करोड रुपैयाँ, सेञ्चुरी बैंकले ७ अर्ब ६९ करोड, प्राइम र एनसीसी बैंकले ७ अर्ब ६७ करोड, बैंक अफ काठमाण्डूले ६ अर्ब ५१ करोड, कृषि विकास बैंकले ५ अर्ब ९२ करोड रुपैयाँ र हिमालयन बैंकले ५ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह थप बढाएका हुन् ।

साथै, सनराइज बैंकले ४ अर्ब ५१ करोड, कुमारी बैंकले २ अर्ब ३९ करोड, लक्ष्मी बैंकले २ अर्ब ३२ करोड, नेपाल इन्भेष्मेन्ट बैंकले १ अर्ब २५ करोड रुपैयाँ र नेपाल बंगलादेश बैंकले ३० करोड रुपैयाँ असार मसान्त यता पुस १७ गतेसम्म थप गरेका हुन् ।

साढे ५ महिनामा व्यवसाय घटाउने बैंकहरु

चालु आवको साढे ५ महिना अर्थात् पुस १७ गतेसम्म ४ वटा वाणिज्य बैंकको निक्षेप संकलन र ३ वटा वाणिज्य बैंकको कर्जा प्रवाह घटेको छ ।

असार मसान्तयता पुस १७ गतेसम्म एभरेष्ट बैंकको ०.९५ प्रतिशत अर्थात् १ अर्ब १३ करोड रुपैयाँले कर्जा प्रवाह घटेको छ । बैंकले गत असार मसान्तमा १ खर्ब १८ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

सो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.४२ प्रतिशतले अर्थात् २ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह र १३.३० प्रतिशत अर्थात् १३ अर्ब १८ करोड रुपैयाँले निक्षेप संकलन घटेको छ ।

गत असार मसान्तसम्म बैंकले ९९ अर्ब ११ करोड निक्षेप संकलन गरी ५७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन पुस १७ गते सम्ममा आइपुग्दा ८५ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा प्रवाह ९० अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ ।

यस्तै, सो अवधिमा नेपाल एसबीआई बैंकको ३.१७ प्रतिशत अर्थात् ३ अर्ब ५० करोड रुपैयाँले निक्षेप संकलन र ४.२८ प्रतिशत अर्थात् ४ अर्ब ४ करोड रुपैयाँले कर्जा प्रवाह घटेको छ ।

बैंकले गत असार मसान्तसम्म १ खर्ब १० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस १७ गतेसम्म बैंकको निक्षेप संकलन १ खर्ब ६ अर्ब ९० करोड र कर्जा प्रवाह ९० अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ ।

साथै, सो अवधिमा कृषि विकास बैंकको निक्षेप संकलन १.३९ प्रतिशतले घटेको छ । गत असार मसान्तमा बैंकले १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन पुसको १७ गतेसम्म आइपुग्दा २ अर्ब रुपैयाँले घटेर १ खर्ब ४१ अर्ब ८८ करोड रुपैयाँमा सीमित भएको छ ।

कुन बैंकले कुन महिना कति बिजनेश गरे ?


पुष्प दुलाल