झण्डै ५ हजार सहकारीको संख्या घट्यो, ८८ हजारलाई प्रत्यक्ष रोजगारी



काठमाडौं । देशभर रहेका सहकारी संस्थाको संख्यामध्ये ४ हजार ९५१ वटा घटेको छ । यसअघि मुलुकभर ३४ हजार ८ सय ३७ सहकारी संघ संस्था रहेकोमा त्यो संख्या घटेर २९ हजार ८ सय ८६ वटा कायम भएको छ ।
सहकारी विभागले गरेको अध्ययनअनुसार कतिपय सहकारी संघ संस्थाको एकीकरण भएको र कतिपय संस्था निष्कृय रहेका कारण प्रारम्भिक सहकारीको सङ्ख्या घटेको हो ।

विभागले ७ वटै प्रदेश तथा ७५३ स्थानीय निकयमा गरेको अध्ययनअनुसार संस्थाको संख्या घटेपनि सदस्य संख्या, कुल सेयर पुँजी, कुल बचत संकलन, कुल ऋण लगानी र सहकारीले सिर्जना गर्ने रोजगारी भने बढेको छ ।

विभागले साउनदेखी कात्तिकसम्म गरेको अध्ययन अनुसार २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था, २० वटा विषयगत केन्द्रीय संघ, १ वटा राष्ट्रिय सहकारी बैंक, १ वटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला सहकारी संघहरू रहेका छन् । २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थामध्ये संघीय सरकार अन्तर्गत १ सय २५, प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७ सय ५९ वटा रहेका छन् । सहकारी संघ संस्थामा आवद्ध सदस्य संख्या ७३ लाख ७ हजार ४ सय ६२ रहेका छन् । जसमा महिला ५६ प्रतिशत र पुरुष ४४ प्रतिशत रहेका छन् । पुरुष सदस्य संख्याको तुलनामा महिला सदस्य संख्या १२ प्रतिशतले बढी रहेको छ ।

मुलुकभरी रहेका सहकारीमा कूल सेयर पुँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८ सय ३ रहेको छ ।

त्यसैगरी, बचत संकलन ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४ सय ७३ र कूल ऋण लगानी ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय ८१ रहेको छ । सहकारी संघ संस्थाले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

विभागका अनुसार देशमा संघीयता कार्यान्वयनसँगै तीन तहको सरकारहरु (संघ, प्रदेश र स्थानीय) बीच अधिकार बाँडफाँडहुँदा सहकारी क्षेत्र नियमन गर्ने, सहजीकरण गर्ने तथा अन्य आवश्यक प्रबन्ध गर्ने अधिकार ३ तहमै पुगेको छ ।

विभागका अनुसार प्रदेश १ मा सहकरी संख्या ४ हजार ७ सय ३७ रहेको छ भने सदस्य संख्या ९ लाख ३५ हजार ७ सय रहेका छन् । जसमा महिला ५ लाख २ सय ४९ र पुरुष ४ लाख ३५ हजार ४ सय ५२ जना रहेका छन् । यो प्रदेशमा रहेका सहकारीको कुल सेयर पुँजी ८ अर्ब २० करोड २ लाख ८७ हजार ३ सय ७२ रुपैयाँ रहेको छ भने बचत संकलन ४१ अर्ब २१ करोड ४२ हजार ८ सय ९ रुपयाँ र कुल ऋण लगानी ३८ अर्ब ९५ करोड २९ लाख १५ हजार १ सय ७ रुपैयाँ रहेको छ । यो प्रदेशमा सहकारी मार्फत २० हजार ६ सय ८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यस्तै प्रदेश २ मा सहकारीको संख्या ४ हजार १ सय ५३ रहेको छ । यी सहकारीमा ५ लाख ५५ हजार १ सय ९७ जना सदस्य रहेका छन् । जसमा महिला २ लाख ५२ हजार १ सय १२ र पुरुष ३ लाख ३ हजार ८५ जना रहेका छन् । प्रदेश २ मा रहेका सहकारीको कुल सेयर पुँजी २ अर्ब ३६ करोड ५२ लाख ४६ हजार १ सय ५८ रुपैयाँ रहेको छ । बचत सङ्कलन २३ अर्ब १९ करोड ९६ लाख ४१ हजार ३ सय १३ रुपैयाँ रहँदा ऋण लगानी १५ अर्ब ५ करोड ११ लाख ९८ हजार ६४ रुपैयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत १० हजार ८ सय ४३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

बाग्मती प्रदेशमा सहकरीको संख्या सबैभन्दा बढी १० हजार ४ सय १८ रहेको छ । यो संख्या अन्य प्रदेशको तुलनामा बढी हो । यहाँ सदस्य संख्या २७ लाख १७ हजार ४ सय ६९ रहेका छन् । जसमा महिला १४ लाख ५७ हजार २ सय २ र पुरुष १२ लाख ६० हजार २ सय ६७ जना रहेका छन् । बाग्मती प्रदेशमा रहेका सहकारीको सेयर पुँजी ५१ अर्ब ४० करोड ६४ लाख २७ हजार ७ सय २४ रुपैयाँ रहेको छ । २ खर्ब १४ अर्ब ६६ करोड २२ लाख ५ हजार ८ सय ६० रुपैयाँ बचत सकलन गरेर १ खर्ब ९९ अर्ब ८६ करोड ४७ लाख २४ हजार ४ सय ३४ रुपैयाँ ऋण लगानी रहेको छ । यो प्रदेशमा सहकारी मार्फत ३३ हजार ८ सय ९२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

गण्डकी प्रदेशमा सहकारीको सख्ंया २ हजार ६ सय ७१ रहेको छ । यस प्रदेशमा सहकारीका सदस्य संख्या ११ लाख १६ हजार ६ सय ३२ जना रहेका छन् । जसमा महिला ६ लाख ४२ हजार १ सय ३० र पुरुष ४ लाख ७४ हजार ५ सय २ जना रहेका छन् । यो प्रदेशमा रहेका सहकारीको कुल सेयर पुँजी २२ अर्ब ५ करोड ९ लाख ६७ हजार २ सय ४६ रुपैयाँ रहेको छ । ८६ अर्ब ७ करोड ४५ लाख ७१ हजार ६ सय ९२ रुपैयाँ कुल बचत सङ्कलन गरेका सहकारीले ८८ अर्ब ३७ करोड ८० लाख ६१ हजार ४ सय ३३ रुपैयाँ ऋण लगानी रहेका छन् । यो प्रदेशमा सहकारी मार्फत ७ हजार ६ सय ३८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा सहकरी संख्या ३ हजार ७ सय ५५ रहेको छ । यस प्रदेशमा सहकारीका सदस्य संख्या ८ लाख ९८ हजार ६ सय ११ जना रहेका छन् । जसमा महिला ५ लाख ७६ हजार ३ सय १२ जना र पुरुष ३२ लाख २२ हजार २ सय ९९ जना रहेका छन् । यस प्रदेशमा रहेका सहकारीको सेयर पुँजी ५ अर्ब ८२ करोड २२ लाख ९७ हजार ५० रुपैयाँ रहेको छ । ५९ अर्ब ९६ करोड ३७ लाख ६८ हजार ४ सय ६७ रुपैयाँ बचत सकलन गरेको सहकारीले ४० अर्ब ८० करोेड ६८ लाख ४ हजार ३२ रुपैयाँ ऋण लगानी गरेका छन् । लुम्बिनी प्रदेशमा सहकारी मार्फत ६ हजार ९ सय ८९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कर्णाली प्रदेशमा सहकारीको संख्या १ हजार ९ सय ६७ रहेको छ । यो सबैभन्दा कम सहकारी संस्था भएको प्रदेश हो । यस प्रदेशमा सहकारीका सदस्य संख्या ४ लाख ४ हजार ९ सय ५६ जना रहेको छ । जसमा महिला २ लाख ७२ हजार ३३ जना र पुरुष १ लाख ३२ हजार ९ सय २३ जना रहेका छन् । यो प्रदेशमा रहेका सहकारीको सेयर पुँजी १ अर्ब ९१ करोड ८० लाख ७३ हजार ४ सय ९८ रुपैयाँ रहेको छ । बचत सङ्कलन ८ अर्ब ८६ करोड ८१ लाख ७८ हजार ७ सय ९२ रुपैयाँ रहेको सहकारीले ऋण लगानी ७ अर्ब ९२ करोड ५२ लाख ४८ हजार ४ सय ८५ रुपैयाँ गरेको छ । यो प्रदेशमा सहकारी मार्फत ४ हजार ५ सय ३४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यस्तै सुदुरपश्चिम प्रदेशमा सहकारी संख्या २ हजार ६० रहेको छन् । यो प्रदेशमा सहकारीका कुल सदस्य संख्या ५ लाख ४२ हजार ९ सय ८९ रहेको छ । जसमा महिला ३ लाख १९ हजार १०० जना र पुरुष २ लाख २३ हजार ८ सय ८९ जना रहेका छन् । यस प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी २ अर्ब १ करोड ५० लाख ८७ हजार ७ सय ९७ रुपैयाँ, बचत सङ्कलन १० अर्ब ४४ करोड ३४ लाख ९६ हजार ९ सय ४१ रुपैयाँ रहेको सहकारीले ऋण लगानी ११ अर्ब ४९ करोड ९५ लाख ८५ हजार ३ सय ३१ रुपैयाँ गरेका छन् । यस प्रदेशमा सहकारी मार्फत २ हजार ८ सय १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

विभागले सहकारीको तथ्याङ्क संकलनका साथै सहकारी संस्थाहरुको सन्दर्भ ब्याजदर तथा सेवा शुल्क निर्धारण र लागु गर्ने कार्य पनि सकेको छ ।

विभागले सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको प्रभावकारी कार्यान्वयन तथा सहकारी क्षेत्रमा सुशासनको लागि आवश्यक नीतिगत तथा संस्थागत संरचना बनाउने काममा लागेको उप-रजिष्ट्रार सुरेन्द्रराज पौडेले बताए ।


पुष्प दुलाल