७ अर्ब डलर फ्रिज गरेपछि इरानले कब्जामा लियो दक्षिण कोरियाको पानीजहाज



एजेन्सी । अन्तर्राष्ट्रिय शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ । इरानको सरकारी सेनाले दक्षिण कोरियाको एक पानीजहाज नियन्त्रणमा लिएको खबर सार्वजनिक भएको छ ।

इरानी समाचार एजेन्सीले इरानको रिभोलुसनरी गार्ड्सले दक्षिण कोरियाको एउटा ट्यांकरलाई कब्जामा लिएको समाचार सार्वजनिक गरेको छ । समाचारमा जनाइए अनुसार चालक दलका २० सदस्यलाई समेत पक्राउ गरिएको छ ।

अमेरिकी प्रतिबन्धका कारण कोरियाली बैंकले इरानको ७ अर्ब डलर फ्रिज गरेपछि उक्त घटना सार्वजनिक भएको हो । सोही विषयलाई लिएर इरान र दक्षिण कोरियाबीचमा पछिल्ला दिनमा तनाव बढ्दै गएको छ ।

अमेरिकी निर्देशनमा दक्षिण कोरियाले तेललगायतका सासमग्री बिक्री गरेको रकम दिन दक्षिण कोरियाले इन्कार गरेको जनाएको छ ।

समाचार अनुसार इरानले ओमानको समुद्रबाट उक्त पानीजहाज नियन्त्रणमा लिएको हो । इरानका सञ्चारमाध्यमले समुन्द्रमा प्रदुषण फैलाएको आरोप लगाएका छन् ।

पक्राउ परेका चालक दलका सदस्य कोरिया, इन्डोनेसिया, भियतनाम र म्यानमारका नागरिक रहेको बताइएको छ । उक्त ट्यांकरलाई अहिले इरानको बान्डार अब्बास पोर्ट सिटीमा राखिएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार कोरियाली उपविदेश मन्त्रीको तेहरान भ्रमण हुन लागेको बेलामा त्यस्तो घटना सार्वजनिक भएको छ ।

भ्रमणका क्रममा अमेरिकी प्रतिबन्धका कारण कोरियाली बैंकले फ्रिज गरेको इरानको ७ अर्ब डलर फुकुवा गर्नेबारे पनि छलफल हुने बताइएको छ ।


पुष्प दुलाल