निक्षेप बढाउन नविल बैंकले एनआइसी एशियालाई जित्यो, ऋणमा भने एनआइसी नै पहिलो



काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा २६ अर्ब ६६ करोडले निक्षेप बढेको छ । अहिले २७ वटा वाणिज्य बैंकसँग अहिले ३७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । जसमा स्वदेशी मुद्रामा ३६ खर्ब ४६ अर्ब विदेशी मुद्रामा १ खर्ब ९ अर्ब निक्षेप छ ।

यस्तै कर्जातर्फ ३१ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप छ । जसमा स्वदेशी मुद्रामा ३० खर्ब ५४ करोड तथा विदेशी मुद्रामा १ खर्ब ६ अर्ब रुपैयाँ ऋण बैंकहरुले दिएका छन् ।

पछिल्लो साता पुसको १० देखि १७ गतेसम्म बैंकहरुले २१ अर्ब ७० करोड रुपैयाँले कर्जा बढाएका छन् ।

पछिल्लो सातामा सबैभन्दा बढी निक्षेप बढाउनेमा नविल बैंक रहेको छ । नविल बैंकले पछिल्लो एक सातामा ४ अर्ब २१ करोड रुपैयाँले निक्षेप बढाएर आफ्नो निक्षेपको आकारलाई २ खर्ब कटाएको छ । २ खर्बभन्दा बढी निक्षेप हुनेमा नबिल चौथो बैंक बन्न पुगेको छ । यसअघि निक्षेपको साइज २ खर्ब रुपैयाँ कटाउनेमा एनआईसी, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंक थिए ।

नविलले चालु आवको यो अवधिसम्म अहिलेसम्म ८ अर्ब ३४ करोड निक्षेप बढाएकोमा पछिल्लो सातामात्रै ४ अर्ब २१ करोड रुपैयाँले निक्षेप बढाएको छ । चालु आवको अहिलेसम्म नविलले २१ अर्ब रुपैयाँ र पछिल्लो साता मात्रै ४६ करोड रुपैयाँ कर्जा बढाएको छ ।

चालु आर्थिक वर्षको सुरुवातदेखि निक्षेपमा आक्रामक उत्रेको एनआईसी एशियाले गतसाता १ अर्ब ३६ करोड रुपैयाँ निक्षेप बढाएको छ । एनआईसी एशियाले असार मसान्तको तुलनामा ७१ अर्ब ५ करोड रुपैयाँले निक्षेप बढाएको छ ।

पछिल्लो एकसातामा ऋण बढाउनेमा एनआईसी एशिया नै अगाडि छ । एनआईसी एशियाले पछिल्लो सातामात्र २ अर्ब ३२ करोड रुपैयाँले ऋण बढाएको छ । ऋण बढाउनमा एनआइसी एशिया नै पहिलो देखिएको छ ।

असारदेखि अहिलेसम्म भने एनआईसी एशियाले ५७ अर्ब १६ करोड रुपैयाँ ऋण बढाएको छ ।


पुष्प दुलाल