जनकपुरमा २ अर्ब बढीको लगानीमा कृषि फार्म, दैनिक ५ लाख अण्डा उत्पादन गर्ने



काठमाडौं । धनुषा जिल्लाको जनकपुरमा २ अर्ब रुपैयाँभन्दा बढी लगानीमा कृषि फार्म खुल्ने भएको छ । यसका लागि केही साताअघि शिलन्यास समेत गरिएको छ ।

कृषि क्षेत्र लगानी हुन लागेको सबैभन्दा ठूलो लगानीमध्येको यो एक हो । जनकपुर एग्रो फार्म प्रालि नामक कम्पनीमार्फत् उक्त लगानी कोरोना महामारीको समयमा आउनुलाई सकारात्मक रुपमा हेरिएको छ ।

मेडिकल कलेजमा लगानी गरिरहेका खुमा अर्याल, भेषराज अर्याल र शोभाकान्त ढकाललगायतको लगानी रहेको कृषि फार्ममा ६ लाख कुखुरा पालिनेछ । साथै यसबाट दैनिक ५ लाख अण्डा उत्पादन गर्ने लक्ष्यसमेत राखिएको छ ।

कम्पनीकाअनुसार फार्म १२ बिघा क्षेत्रफलमा फैलिनेछ भने कम्पनीमा २ सयभन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् ।

धनुषाधाम वडा नम्बर ९ मा सञ्चालन हुने फार्ममा लेयर्स कुखुरा पालिने कम्पनीले जानकारी दिएको छ । हाल शिलन्यास गरिएको फार्ममा संरचना निर्माणको काम १ वर्षमा सम्पन्न गरिने कम्पनीले जानकारी दिएको छ ।

फार्म पूर्णरुपमा सञ्चालनमा आउन भने डेढ वर्षदेखि २ वर्षसम्म लाग्ने कम्पनीको भनाइ छ । कम्पनीकाअनुसार उच्चस्तरीय प्रविधिको प्रयोग गरी पूर्णस्वचालित प्रविधिबाट वातावरण अनुकुल बनाएर उत्पादन गरिनेछ ।

कम्पनीले कुखुरासँगै बायो ग्यास र अग्र्यानिक मल समेत उत्पादन गर्ने लक्ष्य लिएको छ । कम्पनीका अनुसार अण्डा उत्पादन पूर्णरुपमा टेम्प्रेचर कन्ट्रोल हुनेछ भने दाना राख्नेदेखि अण्ड क्रेटमा राख्नेसम्मका सबै काम स्वचालित हुनेछन् ।

कम्पनीले हाल २ लाख वटा लेयर्स कुखुरा पाल्ने योजना बनाएको भने यो फार्मभित्र दैनिक ३ सय सिलिण्डर बायोग्यास उत्पादन हुनेछ । यो बायोग्यास औद्योगिक प्रयोजनमा बिक्री हुनेछ । यो ग्यास एलपीजीभन्दा १० प्रतिशत सस्तो पर्ने कम्पनीको भनाइ छ ।

त्यसका साथै कम्पनीले दैनिक २० टन जैविक मल उत्पादन गर्ने लक्ष्य लिएको छ । कम्पनीमा नेपाल बैंक र कृषि विकास बैंकले लगानी गरेका छन् ।

हाल नेपालमा दैनिक २६ लाख अण्डाको माग छ । यही सम्भावनालाई देखेर कम्पनीले ठूलो मात्रामा अण्डा उत्पादन गर्ने लक्ष्य लिएको छ ।


पुष्प दुलाल