ज्वाइन्ट भेञ्चरमा कार उत्पादन गर्ने फोर्ड र महिन्द्राको सम्झौता रद्द, कारण कोरोना महामारी



अमेरिकी गाडी निर्माता कम्पनी फोर्ड मोटर्स र भारतीय कम्पनी महिन्द्रा एन्ड महिन्द्राले ज्वाइन्ट भेञ्चरको सम्झौता तोड्ने घोषणा गरेका छन् । यसका लागि दुबै कम्पनीले कोरोना महामारीका कारण उत्पन्न चुनौतीलाई कारण बताएका छन् ।

दुबै कम्पनीले यसबारेमा छुट्टाछुट्टै बयान जारी गरेका छन् । जसमा उनीहरुले गत वर्ष ग्लोवल आर्थिक परिस्थितीमा आएको परिवर्तनका कारण पुँजी खर्च गर्ने प्राथमिकतामा बिचार गर्दा बाध्यतात्मक अवस्था भएको बताएका छन् ।

फोर्ड मोटर्सका प्रवक्ता टी आर रिडले ग्लोवल आर्थिक परिस्थिति तथा बिजनेसको वातावरण गत वर्षको अक्टोबरमा जस्तो नभएको बताएका छन् । सन् २०१९ को अक्टोबरमा दुबै कम्पनीले ज्वाइन्ट भेञ्चर बनाउनका लागि घोषणा गरेका थिए ।

यसका लागि दुबै कम्पनीबीच सम्झौता पनि भएको थियो । जस अनुसार ३१ डिसेम्बर २०२० सम्म सम्झौतालाई अन्तिम रुप दिनुपर्ने थियो । तर कम्पनीहरुले सम्झौतालाई अन्तिम रुप दिनुको साटो त्यसलाई रद्द गर्ने फैसला गरेका हुन् ।

अक्टोबर २०१९ मा भएको सम्झौतापछि फोर्ड तथा महिन्द्राले गाडी तयार गर्नका लागि खर्च घटाउने र विकासशिल देशमा ती गाडी बिक्री गर्नका लागि ज्वाइन्ट भेञ्चरमा काम गर्ने बताएका थिए ।

तत्कालीन समयमा दुबै कम्पनीले मिड साइज एसयूभी समेत तीन यूटिलिटी भेहिकल लञ्च गर्ने बताएका थिए । त्यसका साथै इलेक्ट्रिक भेहिकललाई मिलाएर डेभलप गरिने बताएका थिए । तर फोर्ड गाडीको भारतमा व्यापार भने पहिलेकै जस्तै गरी जारी रहने कम्पनीले स्पष्ट पारेको छ । महिन्द्राले पनि ज्वाइन्ट भेञ्चरको सम्झौता टुट्दा प्रडक्ट ल्याउनका लागि कुनै असर नगर्ने बताएको छ । इलक्ट्रिक एसयूभी डेभलप गर्ने प्रयास भने जारी रहने उसले बताएको छ ।

इलेक्ट्रिक तथा सेल्फ ड्राइभिङ कार उत्पादन गर्नका लागि लाग्ने लागत बढिरहेको छ । यसका लागि कम्पनीहरु बिलय तथा गठबन्धनमा जोड दिइरहेका छन् । ताकी खर्चलाई साझा गर्न सकियोस ।

पछिल्ला दिनमा फ्रान्सको पीएसए तथा फियाट क्रिसलरले बिलयको घोषणा गरेको थियो । ३० अर्ब डलरको यो बिलय २०२१ को पहिलो त्रैमाससम्ममा हुने अपेक्षा गरिएको छ ।

-एजेन्सी


क्लिकमान्डु