कोरोना कहरमा पनि अर्बौं लगानीमा पोखरामा बन्दैछन् यी होटल, कुन कहाँ बन्दैछन् ?



लस्ट होराइजन बेगनास रिसोर्ट

काठमाडौं । पर्यटकीय नगरी पोखरामा सडकमा मानिसको भीँड हेर्दा लाग्छ अब कोरोनाको डर बिस्तारै हट्न थालेको छ । स्थानीय मानिसहरु घरबाहिर मज्जाले निस्कन थालेका छन् ।

तर पोखरामा आउने पर्यटकको संख्या हेर्दा भने त्यस्तो देखिँदैन ।

हरेक समय गुल्जार रहने लेकसाइडको चमक यतिबेला निभ्न लागेको दीपजस्तै मधुरो भएको छ । विगतका वर्षमा अंग्रेजी नयाँ वर्ष र त्यसभन्दा एक सात अघि आउने क्रिस्टमसमा देखिने रौनक यसपाली देख्न सकिएन ।

त्यतिमात्रै होइन, हरेक वर्षजस्तै बुधबारदेखि ३ दिनका लागि पोखरामा ‘स्ट्रिट फेस्टिबल’ पनि शुरु भएको छ । तर त्यसमा पनि पर्यटकको उत्साह निकै कम देखिएको छ । यसअघि ‘जाऔं पोखरा’ले पनि कोरोनाको कहरमा त्यति सकारात्मक हुन सकेन ।

विदेशी पर्यटकहरु आउन सकेका छैनन् भने होटल तथा अन्य पसलहरु राम्रोसँग खुल्न सकेका छैनन् । कतिपय होटलहरु अझै पनि खेल्ने आँट गर्न सकेका छैनन् । विदेशी पर्यटक आउने टुंगो नहुनु र आन्तरिक पर्यटकको संख्या बढी नहुँदा पूर्ववतरुपमा होटलहरु कहिले खुल्छन् भन्ने अझै अनिश्चित छ ।

तर यति हुँदाहुँदै पनि पोखरा पर्यटकीय गन्तव्यकारुपमा विकास हुने विश्वासका साथ होटल क्षेत्रमा ठूलो लगानी ओइरिरहेको छ । पर्यटक आकर्षित गर्ने ठूला–ठूला पूर्वाधार निर्माण भइरहेको देख्दा लाग्छ पोखरा जुर्मुराइरहेको छ ।

कोरोना कहरमा कतिपय होटल सञ्चालकहरुले पेशा नै परिवर्तन गरे भने केही व्यवसायीहरु यसैमा भविष्य देख्दै लगानी गरिरहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन् । जसमा स-साना लगानीका होटलदेखि ठूलो लगानीका पाँचतारे रिसोर्टसम्म छन् ।

त्यसैमध्येको एक हो लस्ट होराइजन बेगनास । यो रिसोर्टको ओपनिङ कोरोनाको महामारीका कारण १ वर्ष पछाडि सरेको छ । सन् २०२० को अन्तिमतिर शुरुवात गर्ने लक्ष्य लिइए पनि कोरोनाका कारण सामानहरु विदेशबाट ल्याउनमा भइरहेको ढिलाइका कारण होटलको शुरुवात गर्ने लक्ष्य सन् २०२१ को अन्तिममा सारिएको छ ।

रिसोर्टका जनसम्पर्क अधिकृत अरुण मैनालीका अनुसार १ अर्ब ५० करोड रुपैयाँमा निर्माण भइरहेको यो होटल पाँच तारे स्तरको हो । ५० रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा २ वटा प्रेसिडेन्सियल स्वीट रुमसहित ३८ वटा रुम, २ वटा प्राइभेट स्वीमिङ पुलसहित ४ वटा स्वीमिङ पुलका साथै स्पालगायतका सेवा र सुविधा समेत उपलब्ध हुनेछ ।

टेम्पल बेल बुटिक होटल

त्यसैगरी पोखराको लेकसाइडमा निर्माण शुरु भएको अर्को होटल हो टेम्पल बेल बुटिक होटल एन्ड स्पा प्रालि । लेकसाइडमा निर्माण गर्न लागिएको यो टेम्पल बेल बुटिक होटल एन्ड स्पा प्रालिको भवन निर्माण केही दिन अघि मात्रै शुरु गरिएको हो ।

कुल ५० बेडरुमसहित स्वीमिङ पुल, योगा सेन्टर तथा कन्फरेन्स हलसहितको नेपालीपन झल्किने बुटिक होटल आगामी ३० महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको यसका सञ्चालक भिष्मराज पौडेलले जानकारी दिए । यसको कुल लागत ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विगत १२ वर्षदेखि चिल्ली बार एन्ड रेष्टुराँमा सञ्चालन गरिरहेका विश्वराज पौडेल र भिष्मराज पौडेलले टेम्पल बेल बुटिक होटल निर्माणमा हात हालेका हुन् ।

ह्रोटल काैसी

लेकसाइडको प्राइम लोकसेनमै निर्माण सम्पन्न भई सञ्चालनको पूर्वतयारीमा रहेको अर्को होटल हो ‘होटल कौसी’ । करिब ८ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको यो होटल आगामी बैशाखदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको होटलका सञ्चालक कुलबहादुर आचार्यले जानकारी दिए ।

होटलमा ४० वटा डिलक्स रुम विथ रुफटप, कन्फरेन्स हललगायतका सेवा सुविधा उपलब्ध गराइएको छ । कोरोना महामारीबीच निर्माण सम्पन्न भएर सञ्चालनको अवस्थामा रहेको यो होटलमा मोर्डन बुटिङ एक्सपेरियन्स लिन पाइने समेत आचार्यले बताए ।

त्यससँगै ट्रिपल हिल रिसोर्ट निर्माण सम्पन्न भइ सञ्चालनको पूर्वतयारीमा छ भने स्वदेशी र विदेशी लगानीमा होटल तथा रेष्टुराँ निर्माणका लागि लगानीको प्रतिवद्धता पनि आइसरहेको छ । जसमा चिनियाँ लगानीदेखि ३ अर्ब रुपैयाँ बराबरको लगानीमा होटल खोल्नका लागि ब्रिटिस भर्जिन आइसल्याण्डबाट समेत लगानीको प्रतिबद्धता आइसकेको उद्योग विभागको तथ्यांकमा उल्लेख छ ।

यसबाहेक पनि स-साना गरेर थप १०० भन्दा बढी होटल तथा रेस्टुराँहरु खुल्ने क्रममा रहेका छन् ।

पोखरामा कोरोना महामारीका कारण पर्यटकहरुको संख्या पातलिँदो रहे पनि आगामी दिनमा भने सुखदै रहने कुरा यहाँ निर्माण भइरहेका पर्यटकीय पूर्वाधारले पनि संकेत गरेका छन् ।


पुष्प दुलाल