बैशाखदेखि पोखरामा केबलकार चढ्न पाइने, फेवाताल किनारबाट ८ मिनेटमै सराङकोट, खर्च कति लाग्छ ?



पोखरा । केही वर्ष अघिसम्म पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’जस्तो मात्रै भएको पोखरा विस्तारै पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको छ ।

विभिन्न हिमालतर्फको पदयात्रा, मुक्तिनाथ दर्शन, जोमसोम जाने ‘ट्रान्जिट प्वाइन्ट’ रहेको पोखरा अब आफैंमा पर्यटकीय गन्तव्य हुन थालेको हो ।

साहसिक तथा धार्मिक पर्यटन र अन्य पर्यटकीय पूर्वाधारको विकासले पोखराले अब पर्यटकको बसाइ लम्ब्याउने भएको छ ।

सराङकोटको  डाँडामा पहिलेदेखि नै प्याराग्लाइडिङ सञ्चालनमा थियो । केही समययतादेखि जीप फ्लायर पनि शुरु भएको छ । त्यस्तै, हेम्जाको सेती खोँचमा बञ्जी जम्प पनि सञ्चालन भइसकेको छ । पोखराबाट केही माथि पर्वतको कुश्मामा रहेको बञ्जी र स्वीङ छ ।

त्यस्तै, हिन्दू धर्मावलम्बीहरुलाई लक्षित गरेर पुम्दी डाँडामा भगवान शिवजीको मानवनिर्मित विशाल मूर्ति निर्माणाधीन छ ।

फेवाताल, तालबहारी मन्दिर, डेभिड फल्स, महेन्द्र गुफा र लेकसाइड मात्रै कति हेर्नु ? भनेर पर्यटकहरुको रोजाइमा रुपाकोट, सराङकोट र पुङदीकोट पनि पर्न थालेका थिए ।

त्यसैले पोखरामा कसरी पर्यटक टिकाइराख्ने र के आकर्षण थप्ने भन्ने सोचलाई मूर्तरुप दिन आसपासका क्षेत्रहरुमा पनि अन्य पर्यटकीय गन्तव्यको विकास भइरहेको छ ।

रुपाकोटमा स्वीङ अर्थात् इन्डोनिसिया जस्तै पिङ र हजारौं वर्ष पूरानो जीवनशैली झल्काउने वर्ड भिलेज निर्माण हुने भएको छ । रुपाकोट रिसोर्टका सञ्चालक पुष्प अधिकारीले स्वीङ र वर्ड भिलेज निर्माण गर्ने भएका हुन् ।

‘अब हामी पोखरा पर्यटकलाई रिसिभ गर्ने रिसिभर मात्रै होइन, केही दिने गिभर बनाउन चाहन्छौं,’ अधिकारीले क्लिकमाण्डूसँग भने, ‘हामी त्यस्ता प्रडक्टहरु बेच्न चाहन्छौं जहाँ विश्वका विकसित देशहरुमा पाइने सेवा सुविधा पाइन्छ र विश्वमा कहीँ नपाइने हेरिटेज पाइन्छ ।’

अहिलेसम्म पोखरा आउने पर्यटकले मिस गरिरहेको कुरा हो केबलकार । आन्तरिक पर्यटनको पनि उत्कृष्ट गन्तब्य बनेको पोखरामा केबलकार थिएन । र, पर्यटकहरु केबलकार चढ्न अन्यत्रै जाने गर्थे ।

अब छिट्टै पोखरामै केबलकार चढ्न पाइने भएको छ । अन्नपूर्ण केबलकार प्रालिले फेवातालको किनारैमा रहेको सेदीदेखि सराङकोटसम्म पुग्ने केबलकार निर्माण गरिरहेको छ ।

कोरोनाको कहर नहुँदो हो त फेवातालको किनार (सेदी)बाट सराङकोटसम्म ‘अन्नपूर्ण केबलकार’ चलिसकेको हुन्थ्यो । केबलकारको पूर्वाधार निर्माणको गति कोरोना महामारीले सुस्त बनाएको छ । जसका कारण सञ्चालनको पूर्वनिर्धारित समय केही पर धकेलिने अवस्था आएको छ ।

कम्पनीका सुपरभाइजर अरुण कोइरालाका अनुसार सम्पूर्ण संरचना निर्माणको काम करिब करिब पूरा भइसकेको छ । अब केवल तार तान्ने काम मात्रै बाँकी छ ।

तार तान्न र पोलमा फिट गर्ने जापानिज प्राविधिकहरु कोरोनाका कारण आउन नसक्दा पूर्वाधार निर्माण सम्पन्न भएपछि केबलकार सञ्चालनमा ल्याउन नसकिएको हो ।

‘कोरोनाको महामारीको केही मत्थर भएपछि उहाँहरु आउने कुरा थियो तर बेलायतमा फेरि कोरोनाको नयाँ प्रकार देखिएको र त्यसको असर जापानसम्म पुगेकाले आउने योजना अनिश्चित भएको छ,’ कोइरालाले क्लिकमाण्डूसँग भने ।

कम्पनीले अवस्था सामान्या रहेमा जनवरीको २०२१ को १५ तारिखदेखि जापानीज प्राविधिक आइसक्ने र २ महिनाभित्रमा तार तान्ने काम सम्पन्न हुनेछ ।

‘यो बैशाखसम्ममा व्यावसायिकरुपमा केबलकार सञ्चालनमा ल्याउने छौं,’ कोइरालाले भने ।

कम्पनीका अनुसार हाल जापानबाट मेकानिकल र इलेक्ट्रिकल सामानहरु पनि ल्याउने काम सकिएको छ ।

कम्पनीले शुरुमा १८ वटा ‘केबलकारका डिब्बा’सञ्चालनमा ल्याउने छ भने एउटा ‘डिब्बा’मा एक पटकमा ८ जना यात्रुले यात्रा गर्न सक्नेछन् । कम्पनीले भविष्यमा एकैपटकमा ३५ वटा ‘डिब्बा’ चलाउने योजना बनाएको छ ।

कम्पनीका सुपरभाइजर कोइरालाका अनुसार सेदीदेखि सराङकोटसम्मको साढे २ किलोमिटरको दुरी पार गर्न ८ मिनेटको समय लाग्नेछ ।

पोखराको लेकसाइडमा बास बसेर बिहानै साराङकोट पुगेर सुर्योदयको दृश्य हेर्न पाउने गरी केबलकार सञ्चालनमा ल्याइने उनको भनाइ छ । यसले पोखराबाट साराङकोट गाडीमा ४५ मिनेटमा पुग्ने समयलाई केबलकारले ८ मिनेटमै पूरा गरिदिनेछ ।

‘पर्यटकलाई सराङ्कोटबाट सुर्योदय र सुर्यास्तको दृश्यावलोकन गर्न सहज होस् भनेर केबुलकार बिहान ५ बजेदेखि नै शुरु भएर साँझसम्म चल्नेछ,’ उनले भने ।

सराङकोटबाट अन्नपूर्ण हिमालको रेञ्ज र माछापुच्छ्रे् हिमालसँगै फेवाताललगायतका मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

केबलकार बनाउनका लागि डेढ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने कोइरालाले बताए ।  राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक र बंगलादेश बैंकले उक्त परियोजनामा लगानी गरेका छन् ।

केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने छ । २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा तत्काल १८ वटा डिब्बा (गोन्डोला) रहने छन् । एउटा गोन्डोलाले ८ यात्रु बोक्न सक्छ । उक्त केबलकारमा करिब ३६ वटाभन्दा बढी डिब्बा क्षमता रहेको छ । केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो ।

कम्पनीले सेदीदेखि सराङकोटसम्मको बीच बाटोमा तार मुनी पर्ने ‘राइट अफ वे’मा पर्ने जग्गास्थानीयसँग खरिद गर्ने निर्णय गरेपछि लागत बढ्ने भएको हो । शुरुमा कम्पनीले उक्त जग्गामा पर्ने जग्गाधनीलाई कम्पनीको सेयरधनी बनाउने निर्णय गरेको थियो ।

हाल कम्पनीमा २० प्रतिशत स्थानीयबासी, १५ प्रतिशत जापानिज लगानीकर्ता, बाँकी ६५ प्रतिशत व्यवसायी कालु गुरुङ र उनको समूहको लगानी छ ।

कम्पनीले एक दिनमा कम्तीमा १५ सय जना यात्रुलाई ओसारपसार गर्ने लक्ष्य लिएको छ ।

केबलकार सेदी र साराङकोटमा १५/१५ गरी ३० रोपनी र यी दुई स्थानबीचमा २० रोपनी जग्गा गरी कुल ५० रोपनी क्षेत्रफल निर्माण भएको संरचनामा सञ्चालन हुनेछ ।

कम्पनीले यात्रुसँग लिइने टिकटको मूल्य समेत निर्धारण गरिएको छ । कम्पनीका अनुसार नेपालीलाई ६ सय रुपैयाँ, सार्क देशका नागरिकलाई ७ सय रुपैयाँ र अन्य विदेशी नागरिकलाई ८ सय रुपैयाँ शुल्क लिइनेछ ।

माथिल्लो स्टेसन भवनसहित स्काई हेवन वेलुन रेस्टुराँ, भ्यु टावर निमार्ण हुँदै छ भने तल्लो स्टेसनमा पार्किङ, गार्डेनसहितको संरचना निमार्ण भइरहेको छ ।

केबलकार सञ्चालनमा आएपछि पोखरामा स्वदेशी र विदेशी दुबै पर्यटक बढ्ने र बसाइ अबधि पनि बढ्ने यसका सञ्चालक तथा पोखराका पर्यटन व्यवसायीहरुको तर्क छ ।

केबलकार आएपछि पोखराको आकर्षणमा अर्को चमक थप्ने स्थानीयबासीहरु बताउँछन् ।


पुष्प दुलाल