पशुपतिमा आन्तरिक पर्यटक बढाउन दर्शनविधि बुझाऔंः मन्त्री ढकाल



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या बढ्ने बताएका छन् ।

पशुपति क्षेत्रको निरीक्षण एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारीलाई निर्देशन दिँदै उनले पुरातात्विक सम्पदाको संरक्षण गनुपर्छ र यसबाट विश्वमै नेपालको पहिचान कायम रहने बताए । ‘पशुपति क्षेत्रलाई अझ सुन्दर र पवित्र बनाउन कोषका पदाधिकारी एवं कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ’,उनले भने ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक सबै काम गर्न कोष लाग्नुपर्नेमा जोड दिए । फूल प्रसादका पसल व्यवस्थापन एवं तिलगङ्गाको बस्ती स्थानान्तरणका काम पनि तालिका अनुसार सम्पादन गर्न उनले कोषको ध्यानाकर्षण गराए ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महत्वपूर्ण पुरातात्विक सम्पदाले भरिपूण पशुपति क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार नै काम हुनुपर्नेमा जोड दिए ।

गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर पुस १ गतेदेखि खुला गरिएको छ । हाल बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म भक्तजनका लागि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । मूल प्रवेशढोकामै स्यानिटाइजरको व्यवस्था गरिएको छ । दुई मिटरको दूरी कायम गरेर भक्तजन प्रतीक्षाका लागि उभिन गोलो घेरा बनाइएको छ ।अहिले पनि बिहानदेखि दिउँसो १ बजेसम्म पाँच हजारसम्म भक्तजनले दर्शन गर्ने गरेका छन् ।

सोमबार र शनिबार भने दर्शनार्थीको सङ्ख्या बढ्ने गरेको छ । पुस १ गतेदेखि आजसम्म भक्तजनबाट ८ लाख ८६ हजार १८० रुपैयाँ भेटीस्वरुप प्राप्त भएको कोषाध्यक्ष थापाले जानकारी दिए । टिकट काटेर प्रवेश गर्ने विदेशी पर्यटकका लागि भने अवलोकनको व्यवस्था शुरु भएको छैन । अवस्था सामान्य भएपछि विदेशीका लागि पनि टिकट काटी प्रवेश गराइने कोषले जनाएको छ । रासस


क्लिकमान्डु