निर्जीवन बीमा कम्पनीको ५ महिनामा बीमा शुल्क १२ अर्ब , शिखर इन्स्योरेन्स पहिलो



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ५ महिनामा १२ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्म अग्नी, मोटर, सामुन्द्रीक, हवाई, कृषि तथा बाली, इन्जिनियरिङ तथा अन्य विविध बीमाबाट सो परिमाणमा बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा समितिबाट उपलब्ध तथ्यांक अनुसार सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १९ वटा कम्पनीले मंसिर महिनामा मात्र २ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । काक्तिक मसान्तसम्म कम्पनीहरुको बीमा शुल्क संकलन ९ अर्ब ७९ करोड रुपैयाँ थियो । समितिले उपलब्ध गराएको तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको सो अवधिको प्रिमियम संकलनको विवरण समावेश गरिएको छैन् ।

यस्तै, चालु आवको मंसिर मसान्तसम्म ४ वटा निर्जीवन बीमा कम्पनीले १ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । साथै ७ वटा कम्पनीले ५० करोड रुपैयाँ बढी र ८ कम्पनीले ५० करोड रुपैयाँभन्दा कम बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी १ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले मंसिर महिनामा मात्र २५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

साथै, नेको इन्स्योरेन्स १ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले मंसिर महिनामा मात्र २० करोड रुपैयाँ शुल्क संकलन गरेको थियो ।

सगरमाथा इन्स्योरेन्सले मंसिर मसान्तसम्म १ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले मंसिर महिनामा मात्र २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । साथै, सो अवधिमा सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । मंसिर महिनामा मात्र कम्पनीले १९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

यसैगरी, चालु आवको मंसिर मसान्तसम्म एनएलजी, प्रिमियर, आइएमइ जनरल, लुम्बिनी, पुण्डेन्सियल, अजोड, र नेपाल इन्स्योरेन्स ५० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा युनाइटेड, प्रभु, , दि ओरेन्टीयल, हिमालयन जनरल, एभरेष्ट, नेशनल, जनरल र सानिमा इन्स्योरेन्सले मंसिर मसान्तसम्म ५० करोड रुपैयाँभन्दा थोरै बीमा शुल्क संकलन गरेका छन् ।

चालु आवको मंसिर मसान्तसम्म सबैभन्दा बढी शिखर इन्स्योरेन्सले १ अर्ब ३६ करोड रुपैयाँ र सबैभन्दा थोरै सानिमा जनरल इन्स्योरेन्सले २३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।

 


क्लिकमान्डु