ओलीको लहडमा बिघटन भएको संसद अदालतले पुनस्थापना गर्छ: योगेश भट्टराई



काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् ।

‘विघटन भएको संसद सर्बोच्च अदालतले पुर्नस्थापना गर्छ,’ मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा बोल्दै भट्टराईले भने ।

लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण आफुसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उनले बताए ।

‘यदि यो देशका संवैधानिक अंगहरु स्वतन्त्र, विवेकशील र ठीक छन् भने संसद पुर्नस्थापना हुन्छ,’ भट्टराईले भने, ‘मुलुक रसंविधानप्रति जवाफदेही छन् भने सतप्रतिशत संसद पुर्नस्थापना हुन्छ । हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ । संविधानको रक्षा हुन्छ ।’’

भट्टराईले प्रधानमन्त्री ओलीले संसद विघटको प्रस्ताव गर्दा आफुहरुले रोक्ने धेरै प्रयास गरे पनि सम्भव नभएको बताए ।

‘संविधान पल्टाएर हेर्दा संवैधानिक नै छैन । कानून र संविधानको हिसाबले मेल खाँदैन । राजनीतिक हिसाबले राजनीतिक मुल्यलाई बोकेको छैन । जुनसुकै कारणले भएपनि यो अलोकतान्त्रीक नै हो । अन्य बाटोहरु पनि थिए । असंवैधानिक काम गर्न नपर्ने थियो गर्नुभयो । दुःखी छौँ ।’ उनले भने ।

भट्टराईको विदाइमा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाका टोपीका साथै फुलगुच्छा र मायाको चिनो दिएका छन् ।


पुष्प दुलाल