ओलीको असंवैधानिक निर्णय खारेजीको माग गर्दै प्रचण्ड-माधव समूह सर्बोच्च अदालत जाँदै



काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक भएको दावीसहित नेकपा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह सर्बोच्च अदाल जाने भएको छ ।

सर्बोच्च अदालत स्रोतले दिएको जानकारी अनुसार प्रचण्ड-माधव समूह दिउँसो ३ बजे अदालतमा पुग्नेछन् । अदालतमा प्रचण्ड स्वयं उपस्थित हुने बताइएको छ ।

आफू निकट नेतालाई ओलीको निर्देशन: जनतासँग माफी माग्दै भोट पनि माग्नू

अहिले प्रचण्ड-माधव आफ्नो समूह र कानून व्यवसायीसँग छलफल गरिरहेका छन् । छलफल सकिनेवित्तिकै रिट निवेदन गर्न अदालत जाने छन् । प्रतिनिधिसभा विघटनविरूद्ध मुद्दा हाल्नका लागि हस्ताक्षर संकलन भइसकेको छ ।

नेकपाभित्र खासगरी दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच शक्ति संघर्ष उत्कर्षमा पुगेपछि प्रधानमन्त्रीसमेत रहेका ओलीले जनादेशको अपमान गर्दै संसद विघटन गरेर आगामी बैशाखमा आम निर्वाचनको मितिसमेत घोषणा गरिसकेका छन् ।

सोमबार बिहान आफू निकट नेताहरुलाई बालुवाटारमा बोलाएर ओलीले चुनावमा जान निर्देशन दिइसकेका छन् ।

ओलीको यो कदमले देशलाई गंभीर संकटतर्फ धकेलेको छ ।


पुष्प दुलाल