सुन्तलाको मूल्य प्रतिकेजीमा ३० रुपैयाँसम्म घट्यो, सस्तो हुँदा पनि खपत भएन



काठमाडौं । स्याउ, अनार, केरा, फलफुलबाहेक अन्य फलफुल मौसम अनुसारबजारमा अत्याधिक मात्रामा देखा पर्छन् । आँपको मौसम वर्षा भनेजस्तै सुन्तलाको मुख्य मौसम हो चिसोयाम ।

वर्षभरी नै सुन्तला बजारमा पाइए पनि चिसोको समयमा बजारमा अत्याधिक मात्रामा देखा पर्ने गर्दछ । मौसमअनुसार बजारमा फलफुल देखा पर्ने भएकाले सोही अनुसार मूल्य तय हुने गर्दछ ।

हाल सुन्तलाको मौसम भएकाले बजारमा अत्याधिक मात्रामा सुन्तला देख्न सकिन्छ । त्यस्तै खुद्रा बजारमा अहिले प्रतिकेजी सुन्तलाको मूल्य ५० देखि ८० रुपैयाँसम्म बिक्री गरिरहेको व्यवसायीहरूले बताएका छन् । जुन गत वर्षको तुलनामा करिब सुन्तलाको मूल्य करिब ३० रुपैयाँ सम्म घटेको उनीहरूको भनाइ छ ।

कालीमाटी फलफुल तथा तरकारी बजारका फलफुल व्यवसायी भरत खनालका अनुसार बजारमा सुन्तलाको मूल्य ३० रुपैयाँसम्म घटेको बताए । उनले कालीमाटी बजारबाट बिक्री गर्दै आएको सुन्तला ग्रेड अनुसार बिक्री गर्दै आएका छन् । जसमा विगतको दिनमा कालीमाटीबाट खुद्रामा बिक्री हुने सुन्तलाको अधिकतम मूल्य हो ८० रुपैयाँ ।

तर यो वर्ष उक्त मूल्यमा सुन्तला बिक्री गर्न निकै मुस्किल रहेको बताए । उनका अनुसार गत वर्ष प्रतिकेजी ८० रुपैयाँ बिक्री हुने सुन्तला अहिले ६० रुपैयाँमै बिक्री गर्नुपर्ने अवस्था आएको छ । साथै, गत वर्ष प्रतिकेजी ६० पाउने अहिले ३५ र ३५ रुपैयाँमा पाउने सुन्तला २० रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता सुनाए ।

विगतको दिनमा कालीमाटीबाट खरिद गरी खुद्रा व्यवसायीहरूले प्रतिकेजी ८० देखि १२० रुपैयाँसम्म बिक्री गरेको थियो । तर यो वर्ष अधिकतम ५० देखि ८० रुपैयाँसम्म बजारमा थरीथरीको सुन्तला बिक्री भइरहेको छ ।

करिब १५, २० दिनको तुलनामा भने केही मात्राले बढेको उनको भनाइ छ ।

‘करिब १५ दिन अघिसम्म सुन्तलाको मूल्य निकै कम थियो । यसले गर्दा किसान र आयातकर्ताले उचित मूल्य पाउन सकेको थिएन,’ उनले भने, ‘तर, अहिले केही मात्राले बढीरहेको हुनाले राहत मिलेको छ ।’

यद्यपी बजारमा सुन्तलाको मूल्य निकै कम भएता पनि खपत भने निकै कम रहेको छ ।

किन घट्यो मूल्य ?

बजारमा भनेजस्तो सुन्तलाको मूल्य नपाउनु र खापत हुन नसक्नुको मुख्य कारण कोरोना रहेको व्यवसायीहरूको ठम्याइ छ ।

व्यवसायी खनालका अनुसार कोरोनाबाट बच्नको लागि चिसोबाट बचौं, चिसो खानेकुरा नखाऔं भनेर रेडियो, टेलिभिजनबाट फुकेको फुकै हुनाले बजारमा चिसो फलफुल खपत हुन नसकेको र मूल्यमा गिरावट आएको बताए ।

‘बजारमा जुन सामाग्रीको खपत बढी हुन्छ त्यसको मूल्य बढ्छ । तर, जुन सामाग्रीको खपत कम हुन्छ त्यसको मूल्य घट्ने गर्दछ । त्यसैले खपत नभएसँगै मूल्य घट्नु स्वाभाविक हो,’ उनले क्लिकमान्डूसँग भने ।

त्यसैगरी, हाल नेपाली बजारमा सुन्तलाको मौसम भएकाले अधिकांश सुन्तला स्वदेशी उत्पादन नै खपत हुने गर्दछ ।

तर, यो वर्ष स्वदेशी उत्पादनसँगै भारतको सुन्तला आयात पनि नरोकेको हुनाले बजारमा सुन्तलाको मूल्य नबढेको व्यवसायीहरूको अनुमान छ ।

हाल स्वदेशमै उत्पादन भएको सुन्तला बजारमा पर्याप्त भएता पनि भारतबाट आएको सुन्तलाको आगमनले बजारमा सुन्तलाको मूल्य कम हुन गएको उनीहरूको भनाइ छ ।

भारतबाट आयात भएको सुन्तला आयात हुँदा ग्रेड अनुसारको आयात हुन्छ । सोही अनुसार ग्रेडको मूल्य पनि तय हुन्छ । उक्त भारतबाट आयात भएको सुन्तलाको मूल्य नेपालको उत्पादित सुन्तलाको मूल्य निकै सस्तो हुने गर्दछ ।

तर, नेपालमा उत्पादन भएका सुन्तलाको कुनै ग्रेड बनाएको हुँदैन । जसमा सानो, ठूलो सबै एकै ठाउँमा बिक्री हुने गर्दछ । यसले गर्दा भारत र स्वदेशमै उत्पादन भएका सुन्तलाको मिश्रणले गर्दा बजारमा मूल्य निकै कम भएको खनालले बताए ।

बजारमा अधिकांश स्वदेशी सुन्तला

हाल बजारमा भारतबाट सुन्तला आयातमा नरोकिए पनि बजारमा भने धेरै जसो स्वदेशी सुन्तला रहेको कालीमाटी फलफुल तथा तरकारी बजार समितिका सुचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कालीमाटी बजारमा आयातित अधिकांश स्वदेशी सुन्तला भएता पनि बाहिरी बजारमा भने भारतीय सुन्तला अत्याधिक भएको बताए ।

मंसिर १ गतेदेखिको हालसम्मको विवरण हेर्दा ७ सय ३६ टन स्वदेशी सुन्तला बजारमा आइपुगेको श्रेष्ठले बताए । जसमा तनहुँबाट ४ सय ५५ टन, गोर्खाबाट ९० टन, तनहुँबाट ४१ टन र पर्वतबाट २१ टन आएकोे छ । साथै, भारतको सुन्तला २७ टन मात्रै रहेको उनको भनाइ छ ।

‘हाल बजारमा स्वदेशी उत्पादन नै बढी आएको तथ्याङ्कले देखाउँदछ, भारतबाट आयात भएको सुन्तालको तथ्याङ्क हेर्दा नगन्य छ,’ उनले भने, ‘कालीमाटी बजारमा भारतीय सुन्तालको आगमन नभएता पनि अन्य बजारमा आगमन भएको देखिन्छ ।’

बजारमा अधिकांश सुन्तला तनहुँ, स्याङ्जा, पर्वत र गोर्खालगायत अन्य जिल्लाबाट सुन्तला ल्याउने गरेको छ ।

तर विगतको दिनमा अत्याधिक मात्रामा गोर्खाबाट ल्याएता पनि यो वर्ष गोर्खाको सुन्तलामा किरा लागेर उत्पादन कम भएको उनले बताए ।


पुष्प दुलाल