एक महिना भित्रै ४२ मेगावाट विद्युत् जोडिदै, मिस्ट्रीखोलाको काम सकिदै



काठमाडौं । म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले अबको एक महिनाभित्र उत्पादन शुरु गर्ने तयारी गरेको छ ।

माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीको बाँध, सुरुङ, क्यानल निर्माण, पेनस्टक पाइप र विद्युत्गृहमा उपकरण जडान सकिएको छ । निर्मित संरचना र जडान भएका उपकरणको परीक्षण शुरु गरिएको आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले बताए ।

‘संरचना बनाउने र उपकरण जोड्ने काम सकिएको छ ’उनले भने ‘बनाएका र जोडिएका संरचना ठीक भए नभएको परीक्षणको चरणमा छौँ । ’

बाँधको यसअघिनै परीक्षण भइसकेको छ । सुरुङ, क्यानल र पेनस्टकको परीक्षणका लागि कार्यतालिका बनाइएको छ । त्यसपछि विद्युत्गृहको परीक्षण गरिने इञ्जिनीयर खड्काले बताए । ।

सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाको २ हजार २७०.५ मिटर सुरुङ २०७६ वैशाखमा जोडिएको थियो । नारच्याङको बेँसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युत्गृह निर्माण गरिएको छ ।

नीलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाइएको छ । विद्युत्गृह नजिकै स्विचार्ड निर्माण भएको छ । बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भएको छ ।

११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुुई वटा भूमिगत बालुवा थिग्राउने पोखरी बनाइएको छ । आउटलेटदेखि बाँधसम्म १ हजार ५०० मिटर दुई मिटर गोलाइको पेन स्टक पाइप जडान भएको छ ।

आगामी जनवरी १५ भित्र परीक्षण उत्पादन शुरु गर्ने लक्ष्य राखिएको आयोजनाका प्रतिनिधि चूडामणि निरौलाले बताए । ‘ कार्यतालिकाअनुसार कुनै समस्या आएन भने जनवरी १५ भित्र परीक्षण उत्पादन हुन्छ’ , उनले भने ‘ पूर्वाधार निर्माण सकेर परीक्षणको चरणमा छौँ ।’

कूल ५ अर्ब ६४ करोड लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकले रु ७० करोड, जलविद्युत् विकास कम्पनीले १ अर्ब र नेपाल बैंकले  ५० करोड ऋण लगानी गरेका छन् ।

यसैगरी नबील बैंकले १ अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी गरेका छन् । आयोजना निर्माणस्थल नारच्याङका बासिन्दालाई ७ लाख ३ हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दालाई १० लाख कित्ता शेयर बाँडफाँट गरिएको छ ।

साधारण शेयर पनि बाँडफाँट भइसकेको छ । विद्युत् विकास विभागले २०६४ मा जेनेरेसन लाइसेन्स दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सवस्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि धकेलिएको हो ।

मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ ।

५ मेगावाटको घलेम्दी खोलाले गत माघ महिनादेखि उत्पादन शुरु गरेको छ । अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दूरीको २२० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ । दाना र खुर्कोटमा सवस्टेशनका साथै प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए । ।

टावर ठड्याउने, तार तान्ने र सवस्टेशनको उपकरण जडान सकिएको छ । प्रसारण लाइन र सवस्टेशनको पनि परीक्षण शुरु गर्न लागिएको छ । विद्युत् विकास विभागका अनुसार म्याग्दी जिल्लाभर ७००.८३ मेगावाट क्षमताका १७ जलविद्युत् आयोजना निर्माणको अनुमति लिएका छन् । ३५३ मेगावाट क्षमताका ११ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् ।

३४६ मेगावाट क्षमताका ६ आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । ५ मेगावाट क्षमताको घलेम्दीखोला आयोजनाले उत्पादन शुरु गरेको छ । ८३.५ क्षमताका ३ जलविद्युत् आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४० मेगावाट क्षमताका १४ वटा जलविद्युत् आयोजना सर्वेक्षणको क्रममा रहेको विभागले जनाएको छ ।


पुष्प दुलाल