विदेशी लगानीको प्रतिबद्धता घट्यो, चिनियाँ लगानीको प्रतिबद्धता ८३ प्रतिशतभन्दा बढी



काठमाडौं । चालु आवको पहिलो ५ महिनामा उद्योगहरुमा आउने विदेशी लगानीको प्रतिबद्धता घटेको छ ।

उद्योग विभागका अनुसार गत आवको पहिलो ५ महिना अर्थात् साउनदेखि मंसिर महिनासम्म कुल २७ अर्ब ३८ करोड रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएकोमा चालु आवको सोही अवधिमा यो घटेर २१ अर्ब ११ करोड रुपैयाँमा पुगेको छ ।

विश्वव्यापीरुपमा फैलिएको कारोना भाइरसको महामारीका कारण अर्थतन्त्र प्रभावित भएका बेलामा समग्रमा विदेशी लगानीको प्रतिबद्धतामा कमी आएको हो । विभागका अनुसार समग्रमा विदेशी लगानीको प्रतिबद्धतामा कमी आए पनि पर्यटन क्षेत्रमा भने अपेक्षाभन्दा बढी बढेको छ ।

चालु आवको ५ महिनामा १०८ वटा कम्पनीका लागि विदेशी लगानीको प्रतिबद्धता आएको छ । जसबाट ३ हजार ३८३ जनाले रोजगारी पाउन उल्लेख छ । यस्ता कम्पनीमा अधिकांश शतिप्रतिशत विदेशी लगानीका प्रतिबद्धता आएको छ भने सीमित केहीमा स्वदेशी लगानी पनि छ ।

कुन क्षेत्रमा कति लगानी ?
उद्योग विभागका अनुसार सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानीको प्रतिबद्धता आएको छ । गत आवको मंसिर महिनासम्ममा कुल ७ अर्ब ८७ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको पर्यटन क्षेत्रमा चालु आवको सोही अवधिमा भने झण्डै दोब्बर अर्थात् १४ अर्ब ९० करोड रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

त्यसैगरी सेवामूलक क्षेत्रमा गत आवको ५ महिनामा ६ अर्ब २४ करोड रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएकोमा चालु आवको सोही अवधिमा भने यो रकम घटेर ५ अर्ब ५ करोड रुपैयाँमा झरेको छ । त्यसैगरी उत्पादनमूलक क्षेत्रको हकमा भने गत आवको तुलनामा चालु आवमा विदेशी लगानीको प्रतिबद्धता बढेको छ । गत आवमा कुल २ अर्ब ५८ करोड रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको थियो भने चालु आवको सोही अवधिमा ४ अर्ब ३६ करोड रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

त्यसैगरी सूचना तथा प्रविधि क्षेत्रमा गत आवमा ५ अर्ब ३५ करोड रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको थियो भने चालु आवको मंसिर महिनासम्ममा ४ अर्ब रुपैयाँको मात्रै विदेशी लगानीको प्रतिबद्धता आएको छ । त्यसैगरी कृषि क्षेत्रको हकमा गत आजमा ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएकोमा चालु आवको मंसिर महिनासम्ममा ३ अर्ब २९ करोड रुपैयाँको प्रतिबद्धता आएको छ ।

त्यसैगरी विभागका अनुसार गत आवमा उर्जा क्षेत्रमा करिब ५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएकोमा चालु आवमा भने उर्जा क्षेत्रमा लगानीको प्रतिबद्धता आएको छैन ।

चीनबाट सबैभन्दा धेरै
पछिल्लो समय नेपालका उद्योगहरुमा चिनियाँ लगानी बढिरहेको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी पर्यटनमा आकर्षित देखिएको चिनियाँ लगानीकर्ताहरु समग्र क्षेत्रको तथ्यांक हेर्दा सबैभन्दा बढी चीनकै लगानीको प्रतिबद्धता देखिएको छ ।

चालु आवको ५ महिनामा कुल विदेशी लगानीमध्ये ८३.२ प्रतिशत लगानीको प्रतिबद्धता छिमेकी मुलुक चीनबाट आएको छ ।

चालु आवको ५ महिनामा कुल विदेशी लगानीको प्रतिबद्धता २१ अर्ब ११ करोड रुपैयाँमध्ये चीनबाट आएको लगानीको प्रतिबद्धता मात्रै १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको छ ।

त्यसैगरी गत आवको पहिलो ५ महिनामा पनि चीनबाट आउने लगानीको प्रतिबद्धता सबैभन्दा धेरै भएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार गत आवको ५ महिनामा कुन विदेशी लगानीको प्रतिबद्धता २७ अर्ब ३८ करोड रुपैयाँ बराबरको थियो । जसमध्ये चीनबाट आउने लगानीको प्रतिबद्धता मात्रै १६ अर्ब ४६ करोड रुपैयाँ बराबरको थियो ।


क्लिकमान्डु