कर्जाको स्वाप रेसियोमा कडाइ, समय अगाडि कर्जा तिर्दा सेवा शुल्कको शत प्रतिशत भुक्तानी गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको अग्रिम भुक्तानी तथा एक बैंकबाट अर्को बैंकमा स्वाप गर्न कडाइ गरेको छ । ऋणीले बैंक तथा वित्त कम्पनीबाट लिएको कर्जाको भुक्तानी समयावधि अघिनै गर्नु पर्दा सेवा शुल्कको शत प्रतिशत भुक्तानी गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

यस अघि अग्रिम भुक्तानी वा स्वाप शुल्क वापत वाणिज्य बैंकले ०.१५ प्रतिशत, विकास बैंकले ०.२ प्रतिशत र वित्त कम्पनीले ०.२५ प्रतिशतमात्र लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।
हाल बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृति गर्दा सेवा शुल्क वापत क्रमशः अधिकतम ०.७५ प्रतिशत, १.०० प्रतिशत, १.२५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाईने व्यवस्था रहेको छ ।

केन्द्रीय बैंकले ‘एकिकृत निर्देशिका २०७७’ मा संशोधन तथा परिमार्जन गर्दै कर्जा प्रवाह भएको २ वर्ष भित्र कर्जाको अग्रीम भुक्तानी भएमा खण्ड बैंकहरुले उल्लेखित सेवा शुल्कको अधिकतम शत प्रतिशतसम्म लिन पाउने व्यवस्था गरेको छ ।

यस्तै, २ वर्ष देखी ५ वर्ष भित्र कर्जा चुक्ता भएमा खण्ड सेवा शुल्कको अधिकतम ५० प्रतिशतसम्म र ५ बर्ष भन्दा पछि कर्जा चुक्ता भएमा सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म लिन पाउने व्यवस्था गरेको छ ।

ऋणीले एक बैंकबाट अर्को बैंकमा कर्जाको सार्नु अथवा स्वाप गर्दा कर्जा प्रवाह भएको २ वर्ष भित्र बैंक परिवर्तन गरेमा वक्यौता रकममा सेवा शुल्कको अधिकतम शत प्रतिशतसम्म शुल्क तिर्नु पर्ने छ । साथै, २ वर्ष देखी ५ वर्ष भित्र बैंक परिवर्तन गरेमा वक्यौता रकममा सेवा शुल्कको अधिकतम ५० प्रतिशतसम्म र ५ वर्ष पछि बैंक परिवर्तन गरेमा वक्यौता रकममा सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म शुल्क तिर्नु पर्नेछ ।

स्थिर व्याजदरमा प्रवाह भएका आवधिक कर्जाको हकमा ऋणी सँगको सहमतिमा कर्जा स्वीकृति पत्रमा उल्लेख भएबमो सेवा शुल्कको शत प्रतिशत अग्रिम भुक्तानी शुल्क वा स्वाप शुल्क लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु