हायात होटलको नोक्सानी करिब ८ करोड रुपैयाँ, खर्च कटौती गर्ने



काठमाडौं । होटल तारागाउँ रिजेन्सी होटल्स लिमिडेट (हायात)ले चालु आवको पहिलो त्रैमासमा ७ करोड ८९ लाख रुपेयाँ नोक्सानी बेहोरेको छ ।

गत आवको पहिलो त्रैमासमा २३ करोड ३४ लाख रुपैयाँ कुल आम्दानी गरी नाफा १ करोड ४६ लाख (कर्मचारीलाई बोनस, सीएसआर र कर अघिको) रहेकोमा चालु आवको सोही अवधि कुल आम्दानी २१ करोड ८६ लाख रुपैयाँले घटेर जम्मा ४९ लाख आम्दानी गरेको छ । जसका कारण कम्पनीले ७ करोड ८९ लाख नोक्सानी बेहोरेको छ ।

कोरोना महामारीका कारण पर्यटन क्षेत्र प्रभावित हुँदा होटलको आम्दानी घट्दा नोक्सानी बेहोरेको हो ।

होटल नोक्सानीमा जानुका कारण कोरोना भाइरसको महामारी, मुलुकमा नयाँ पाँचतारे होटल खुल्नु तर सोही अनुरुप पर्यटकको आगमनमा वृद्धि नहुनु र पर्यटकीय गतिविधि पनि ठप्प हुनु जस्ता कारण मानेको छ ।

कोरोना भाइरसको खोप सर्वसुलभ नहुँदासम्म पर्यटकीय गतिविधि नबढ्ने भन्दै आगामी दिन पनि चुनौतीपूर्ण रहेको उल्लेख गदै खर्चमा मितव्ययिता अपनाउने बताएको छ । होटलले कोरोनाको असर कहिलेसम्म रहन्छ भन्ने अनुमान गर्न सक्ने अवस्था नरहेको भए पनि घट्दो आम्दानी भएको अवस्थामा खर्चहरुमा मितव्ययिता अपनाइ खर्चहरुमा कटौती तथा नियन्त्रण गरी नोक्सानी सकेसम्म घटाउने प्रयास जारी रहेको जनाएको छ ।

गत आवको चौथो त्रैमासमा प्रति सेयर आम्दानी ८.७८ रुपैयाँ रहेको होटलको चालु आवको प्रथम त्रैमासमा ४.१९ रुपैयाँ नोक्सानीमा छ । त्यसैगरी प्रतिसेयर नेटवर्थ १२३.५२ रुपैयाँ रहेको होटलको तरलता अनुपात १.६७ प्रतिशत छ ।


क्लिकमान्डु