एयरपोर्टमै कोरोनाको ‘एन्टिजेन’ परीक्षण गर्ने नेपाल एयरलाइन्सको तयारीमा मन्त्रालय बाधक



काठमाडौं । लगातार ४ पटकसम्म हङकङ उडानमा प्रतिबन्ध लागेपछि पीसीआर परीक्षणसँगै विमानस्थलमै यात्रुको कोरोना भाइरसको ‘एन्टिजेन’ परीक्षण गर्ने नेपाल एयरलाइन्सको तयारीमा स्वास्थ्य मन्त्रालय बाधक बनेको छ ।

नेपाल वायुसेवा निगमको उच्च स्रोतका अनुसार हङकङ उडानका क्रममा विगतमा भएका कमी कमजोरीहरुलाई दोहोरिन नदिनका लागि विमानस्थलमै एन्टिजेन परीक्षण गर्ने तयारी गरिएको थियो । तर स्वास्थ्य मन्त्रालयलले अनुमति नदिएपछि हाल एन्टिजेन परीक्षणमा अन्यौलता देखिएको छ ।

‘कोरोना भाइरस छ वा छैन भनि गरिने आरटी पीसीआर परीक्षण विधिमा विश्वस्नीयता नभएपछि थप विश्वस्नीयता बढाउनका लागि निगमले हङकङ जाने यात्रुको हकमा विमानस्थलमा एन्टिजेन परीक्षण गर्ने तयारी गरेको थियो, तर स्वास्थ्य मन्त्रालयले अझै अनुमति दिएको छैन,’ निगम उच्च स्रोतले भन्यो ।

निगमले विमानस्थलमै एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएमा यात्रुलाई अफलोड गर्ने तयारीका साथ उक्त परीक्षण गर्ने योजना बनाएको थियो । तर स्वास्थ्य मन्त्रालयले एन्टिजेन परीक्षणलाई विश्वासयोग्य नभएको भन्दै त्यसैका आधारमा यात्रु ओराल्न नपाइने भनेपछि अनु्मति दिएन ।

यता नेपाल एयरलाइन्सले हङकङ उडानको हकमा पीसीआर परीक्षणको समय सीमामा नयाँ निगम आइतबारदेखि लागू गरेको छ । हाल १७ डिसेम्बरसम्म हङकङ उडानमा प्रतिबन्ध खेपिरहेको नेपाल एयरलाइन्सले त्यसपछिको उडानमा यसअघि कायम ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभको साटो अब ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट आवश्यक पर्ने नियम बनाइसकेको छ ।

यता सरकारले पनि केही समय अगाडिदेखि नै सस्तो मूल्य पर्ने र आधा घण्टामै नतिजा दिने कोरोना परीक्षणको विधि एन्टिजेन परीक्षण शुरु गर्ने निर्णय गरेको थियो । तर हालसम्म यसको प्रभावकारिता कति हुन्छ भन्ने छैन ।

नेपालबाट कोरोना परीक्षण (आरटी पीसीआर) गरेर गएका यात्रुमा हङकङको विमानस्थलमा परीक्षण गर्दा पोजिटिभ देखिएपछि नेपाल एयरलाइन्समा प्रतिबन्ध लागेको थियो । त्यसपछि नेपाल एयरलाइन्सले निजी ल्यावको पीसीआर रिपोर्ट विश्वस्नीय नभएको भन्दै सरकारी ल्यावको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको थियो ।

तर सरकारी ल्यावको रिपोर्ट बोकेर हङकङ पुगेका यात्रुहरुको कोरोना परीक्षण गर्दा ५ जनामा पोजिटिभ देखिएपछि नेपाल एयरलाइन्स चौथो पटक प्रतिबन्धमा परेको थियो । त्यसपछि निगमले विमानस्थलमै एन्टिजेट परीक्षण पनि गर्ने तयारी गरेको थियो । तर स्वास्थ्य मन्त्रालयले अनुमति नदिएपछि यो अन्योलतामै अड्किएको छ ।

तर स्वास्थ्य मन्त्रालयले अनुमति नदिए पनि आफ्नो रेकर्डका लागि मात्रै भए पनि एन्टिजेन परीक्षण गर्ने निगमको तयारी छ । तर स्वास्थ्य मन्त्रालयले अनुमति नदिँदासम्म एन्टिजेन परीक्षणमा पोजिटिभ देखिए पनि यात्रु अफलोड गर्न भने पाइने छैन ।


क्लिकमान्डु