फाइजरको खोपलाई स्वीकृति दिन अमेरिकी अधिकारीको सिफारिश



काठमाडौं । बेलायतमा कोरोना भाइरस विरुद्धको खोप लगातार प्रयोग भइरहेको बेला अमेरिकी खाद्य तथा औषधि नियामक एफडिएलाई सुझाव दिने चिकित्साविज्ञहरूले फाइजर बायोएनटेक खोपलाई आपतकालीन प्रयोग गर्न अनुमति दिन भनेका छन् ।

बिबिसीका अनुसार सो खोपको गुणदोष केलाउन विज्ञहरूको २३ सदस्यिय उक्त दलले बैठक गरेपछि त्यस्तो निर्णय आएको हो । फाइजरको खोप सर्वसाधारणका लागि लगाउन बेलायत क्यानाडा, बहराइन र साउदी अरबले स्वीकृति दिइसकेका छन् ।

तर उक्त खोपलाई एफडिएका खोप प्रमुखले औपचारिक स्वीकृति दिने काम बाँकी छ जुन आउँदा केही दिनमा हुने अपेक्षा गरिएको बिबिसीले जनाएको छ ।

खोपबारे विज्ञहरूको सिफारिस अमेरिकामा एकैदिन तीन हजार बढिले कोरोनाभाइरस जोडिएका घटनामा ज्यान गुमाएको भोलिपल्ट आएको हो ।

एफडिएको उक्त बैठकपछि अमेरिकी स्वास्थ्य मन्त्री एलेक्स एजारले भनेका छन त्यसोभए अब हामीले केही दिनमै खोप पाउनेछौँ र अर्को साताबाट सबैभन्दा बढ्ता जोखिममा रहेकाहरूलाई दिन थाल्ने स्थानीय अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

संघीय सरकारको खोप वितरण कार्यक्रम अपरेसन र्याप स्पीडले खोप स्वीकृत भएको २४ घण्टामै खोप वितरण सुरु हुने जनाएको छ ।

फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ । खोप पूर्ण हुन दुईवटा डोज आवश्यक पर्ने हुँदा त्यो ३३ करोड जनसङ्ख्या भएको अमेरिकाका झण्डै ३० लाखलाई पुग्नेछ ।

अमेरिकाका अधिकारीहरूका अनुसार एफडीएले स्वीकृति दिएसँगै त्यो सुरुमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका ३० लाख जेष्ठ नागरिकहरूलाई दिइने अपेक्षा गरिएको छ ।

दोस्रो चरणमा देशका झण्डै आठ करोड ७० लाख अत्यावश्यक सेवामा काम गर्नेहरूलाई खोप दिने बताइएको छ । तर कुन उद्योगहरूलाई प्राथमिकता दिने भन्ने निर्णय भने राज्यहरूले गर्नुपर्नेछ ।

अधिकारीहरूका अनुसार उच्च जोखिममा नरहेका समूहहरूका लागि कोरोनाभाइरसको खोप सन् २०२१ को बसन्त याममा लगाइने अपेक्षा गरिएको छ ।

अमेरिकामा मोडर्ना र नेशनल इन्स्चिच्युट अफ हेल्थले तयार पारेको अर्को खोपले समेत स्वीकृति खोजिरहेको छ । फाइजरलेझैँ उक्त खोपका लागि समेत दोस्रो खेप आवश्यक पर्नेछ । बिबिसी


पुष्प दुलाल