पहिलेको मापन समूचित ढंगले नभएको हुनसक्छ, अहिले सगरमाथासँगै देश .८६ मिटरले माथि उठेको छ: प्रम ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइसँगै देशको उचाइ पनि ०.८६ मिटरले माथि उठेको बताएका छन् ।

मंगलबार दिउँसो नेपाल र चीनले संयुक्तरुपमा भर्चुअल कार्यक्रममार्फत् माउन्ट सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत् उक्त घोषणा गरेका हुन् ।

ओलीले सगरमाथासँगै देश पनि .८६ मिटरले माथि उठेको तर्क गरे ।

प्रधानमन्त्री ओलीले यसअघि कायम भएको उचाइ मापन गर्दा संयन्त्र, विधि र मूल्यांकन समूचित ढंगले हुन नसकेर हुन सक्ने तर्क गरेका छन् ।

यसअघि कायम भएको माउन्ट सगरमाथाको उचाइ भारतको सर्भे विभागले सन् १९५४ मा मापन गरेको थियो ।

तर यसपटक भने नेपालले आफैले १३ करोड रुपैयाँ खर्चेर र चीनले आफ्नै लगानीमा मापन गरेका हुन् । दुबै टोलीले गरेको मापनबाट प्राप्त तथ्यांकलाई प्रशोधन गरी नयाँ उचाइ पत्ता लागेको थियो । जसलाई दुबै देशले संयुक्तरुरमा सार्वजनिक गर्ने यसअघिको प्रतिबद्धता अनुसार आज सार्वजनिक गरिएको हो ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका बेलामा उक्त सहमति भएको थियो ।

‘हाम्र हिमालहरु नयाँ हुन् । हिमाल बन्ने क्रम नयाँ हो । र, क्रमश: उचाइ बढ्दै जानु पनि स्वभाविक हो । आज सार्वजनिक भएको तथ्यांक उचाइ बढेर हुन सक्दछ वा विगतको उचाइको मापन उपयुक्त संयन्त्र, विधि र मूल्यांकन समूचित ढंगले हुन नसकेर हुन सक्दछ । तर आज जसरी होस् उचाइ पहिले भनिएको भन्दा उचाइ बढेको  तथ्य सार्वजनिक भएको छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले भने, ‘सर्वोच्च शिखर सगरमाथा चोमोलुङ्मा, यसको उचाइ बढी विश्वस्नीय, भरपर्दो र यथार्थमा आधारित हुन सकोस् भनेर नेपाल र चीनले संयुक्तरुपमा मापन गरी आज नयाँ उचाइको तथ्य सार्वजनिक भएको छ । जसअनुसार अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । सगरमाथाको उचाइ .८६ मिटरले वृद्धि भएको छ । यो खुसीको कुरा हो । र, हाम्रो देशको उचाइ पनि .८६ मिटरले माथि उठेको छ ।’

उनले दुबै देशका संयुक्त टोलीलाई नयाँ उचाइ निकालेकोमा धन्यवाद समेत दिए । साथै उनले हामी सबै उचाइकै बाटोमा अग्रसर हुन समेत सबैलाई आग्रह गरेका छन् ।

 

 


क्लिकमान्डु