सगरमाथाको उचाइ ०.८६ मिटरले बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर
काठमाडौं । सगरमाथाको उचाइ ०.८६ मिटरले बढेको छ । हालसम्म कायम रहेको ८८४८ मिटरको उचाइ अब ८८४८.८६ मिटर कायम भएको छ ।
मंगलबार नेपाल र चीनले भर्चुअलमाध्यमबाट संयुक्तरुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् ।
नेपालस्थित नापी विभागले आफ्नै प्रयोगशालामा प्राप्त तथ्यांक प्रधोधन गरी नयाँ उचाइ निकालिएको हो ।
सगरमाथाको उचाइ नाप्ने काम सन् २०१७-१८ मा शुरु गरिएको थियो ।
मंगलबार आयोजित कार्यक्रममा बोल्दै नापी विभागका महानिर्देशक प्रकाश जोशीले शुरुमा नेपालले प्राप्त तथ्यांकलाई प्रशोधन गरिएको र पछि चीनले प्रधोशन गरेको तथ्यांकलाई मिलाएर फेरि प्रधोशन गरिएको तथ्यांकबाट प्राप्त नतिजा सार्वजनिक गरिएको बताए । उनले तथ्यांक संकलनका लागि २ हजार ४८ किलोमिटरसम्मको तथ्यांक संकलन गरिएको बताए ।
यसअघि चिनियाँ राष्ट्रपति सी जिनफिङको सन् २०१९ अक्टोबर १२–१३ सम्मको नेपाल भ्रमणमा दुबै देशले संयुक्तरुपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने सहमति भएको थियो ।
कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्या भण्डारीले चिनियाँ राष्ट्रपतिलाई पठाएको सन्देश पढेर सुनाएका थिए ।
जसमा राष्ट्रपति भण्डारीले नेपाल वा चाइना पोलिसीमा अडिग रहेको समेत दोहोराइकी थिइन् । ज्ञवालीले सगरमाथाको उचाइ सार्वजनिक कार्यक्रममा सहभागी हुन पाएकोमा आफूलाई गौरवान्वित भएको बताए ।