बुल मार्केटबाट अल्पकालीन फाइदा कमाउन बैंकहरुले सेयर बजारमा ह्वात्तै लगानी बढाए



काठमाडौं । पछिल्लो केही महिनामा पुँजी बजार सुचक नेप्से इनडेक्स लगातार बढीरहेको छ । कारोबार रकम र इन्डेक्स दुबैमा नेप्सेले यस अघिका रेर्कड तोड्दै नयाँ-नयाँ रेर्कड कायम गरिरहेको छ ।

नयाँ लगानीकर्ताहरुको सक्रिय प्रवेशसँगै संस्थागत लगानीकर्ताहरुको सर्ट टर्म प्रोफिट कमाउने नीतिले नेप्सेमा उछाल ल्याउन महत्वपूर्ण भुमिका खेलेको जानकारहरुले बताएका छन् ।

कोरोना भाइरस संक्रमणको असरका कारण अर्थतन्त्रमा सुस्ताता आए पनि सेयर बजारमा भने अस्वाभाविक उछाल आएको छ ।

बैंक र बीमा कम्पनीले सेयर बजारलाई नाफा कमाउने माध्यम बनाएका छन् । बैंकहरुले बीमा र अन्य कम्पनीको अनि बीमा कम्पनीहरुले पनि बैंक र अन्य कम्पनीको सेयर किनिरहेका छन् ।

‘खासगरी ठूलो परिमाणमा बैंकले बीमा कम्पनीको र बीमा कम्पनीले बैंकको सेयर किनिरहेका छन्, जसले बजार बढ्न मद्दत गरेको हो,’ एक ब्रोकरले क्लिकमाण्डूसँग भने ।

हालसम्म पूर्णरुपमा आर्थिक गतिविधि चलायमान नहुँदा बैंक तथा वित्त कम्पनीमा कर्जाको माग सुस्त छ । जसकारण बैंकिङ प्रणालीमा २ खर्ब लगानी योग्य रकम रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

अन्य क्षेत्रबाट कर्जाको माग नआएपछि बैंकहरुले सेयर बजारमा लगानी बढाउँदै लगेका हुन् ।

‘बैंकहरुले पछिल्लो एक महिनामै कुल ७/८ अर्ब रुपैयाँले लगानी बढाएको देखिन्छ जसको अधिकाँश हिस्सा सेयरको लगानी हो,’ राष्ट्र बैंकको सुपरिभिजन विभागका एक अधिकारीले क्लिकमाण्डूसँग भने, ‘अहिले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण त्यति सहज भइसकेको छैन, त्यसकारण बैंकहरुले थुप्रिएर रहेको पुँजी सेयर बजारमा लगानी गरेका हुन् ।’

गत असारमा बैंकहरुले सेयर बजारमा १ खर्ब ७३ अर्ब रुपैयाँ लगानी गरेका थिए भने हाल बैंकहरुले १ खर्ब ८१ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्त संस्थाले कुनै एक बैंकिङ क्षेत्र बाहेकका अन्य सूचिकृत कम्पनीको दोस्रो बजारमा आफ्नो कुल पुँजीको १ प्रतिशत लगानी गर्न पाउँछन् ।

हाल बैंकहरुको कुल पुँजी ४ खर्ब ८२ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । जसअनुसार सेकेन्डरी मार्केटमा बैंकहरुले पौने ५ अर्ब रुपैयाँ लगानी गर्न पाउँछन् ।

यो तथ्यांकका आधारमा कुनै न कुनै बैंकले छोटो फाइदाका लागि राष्ट्र बैंकको नियमको उल्लंघन गरिरहेको प्रष्ट संकेत गर्छ ।

गत आर्थिक वर्षको अन्तसम्म बैंकहरुले राष्ट्र बैंकले तोकेको दायराभन्दा न्यून मात्रामा फार्म तथा संस्थाको सेयरमा लगानी गरेको राष्ट्र बैंक सुपरिवेक्षणका अधिकारीले बताए ।

‘त्यस असारयता बैंकहरुले सेयर बजारमा लगानी बढाएका छन्, लगानी योग्य रकम भइरहेको बेलामा जहाँ अवसर छ त्यही लगानी गरेका हुन्,’ अधिकारीले थपे, ‘नियमकको दायरामा रहेर सेयरमा लगानी गर्ने बैंकले अहिले राम्रो रिर्टन पाइरहेको छन्, विभिन्न कम्पनीहरुले लाभांश घोषणा गरेका छन् भने त्यसबाट उनीहरुले आम्दानी त बढाउने राम्रो मौका हो ।’

हालसम्म बैंकहरुले राष्ट्र बैंकले तोकेको दायराभन्दा बढी लगानी नगरेको हुँदा बैंकहरुको सेयरमा लगानी र त्यसको आम्दानीमा हाल राष्ट्र बैंकले निगरानी भने गरिरहेको उनको भनाइ छ ।

‘बैंकको पुँजी भनेको जनताको परिश्रम हो, त्यो कहाँ लगानी हुन्छ जहिले पनि उनीहरुको बुकबाट राष्ट्र बैंक सुपरिवेक्षण हेरिरहेको हुन्छ,’ ती अधिकारी भन्छन्, ‘अहिले बैंकहरुलाई सेयर लगानीको विषयमा निगरानीमा नै राख्नु पर्ने अवस्था आएको छैन ।’

बैंकहरुले राष्ट्र बैंकले तोकेको दायराभन्दा बढी सेयर बजारमा लगानी गरे आवश्यकताअनुसार कारवाही गर्न केन्द्रीय बैंक पछि नहट्ने उनको भनाइ छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही समयअघि बैंकहरुको क्षेत्रगत कर्जा प्रवाहको अवस्थालाई शुक्ष्म निगरानीका साथ हेर्न सुपरिभिजन विभागका अधिकारीहरुलाई निर्देशन दिएका थिए । गभर्नरले सेयर बजारमा भएको लगानीलाई नजिकबाट नियालिरहेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।


क्लिकमान्डु