नेपाल एयरलाइन्सलाई हङकङ उडानमा फेरि प्रतिबन्ध, सरकारी ल्यावको रिपोर्टमै खोट



काठमाडौं । नेपाल एयरलाइन्सलाई हङकङ उडानमा चौथोपटक प्रतिबन्ध लागेको छ । नेपाल एयरलाइन्सका सह–प्रवक्ता सुलेख मिश्रका अनुसार हङकङले डिसेम्बर १७ सम्म २ साताका लागि उडानमा फेरि प्रतिबन्ध लगाएको हो ।

गत सोमबार तेस्रो पटकको प्रतिबन्धपछि हङकङ गएको नेपाल एयरलाइन्सको उडानमा रहेका ५ जना यात्रुमा कोरोना पोजिटिभ देखिएपछि हङकङले फेरि प्रतिबन्ध लगाएको हो । यसअघि अक्टोबरमा २ पटक र नोभेम्बरमा एक पटक हङकङ उडानमा प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि नेपाल एयरलाइन्सले हङकङ उडानका लागि सरकारी ल्यावको रिपोर्टलाई मात्रै मान्यता दिने उल्लेख गरेको थियो । तर सरकारी रिपोर्ट बोकेका ५ जना यात्रुमा त्यहाँ पुगेर परीक्षण गर्दा पोजिटिभ देखिएको हो ।

यसअघि हङकङ उडानमा कोरोना पोजिटिभ देखिएपछि स्टार अस्पताल, ह्याम्स अस्पताल, सुरिया हेल्थकेयर र सेन्ट्रल डाइगोनेस्टिक सेन्टरलाई छानबिन गरिएको थियो । उनीहरुले नेगेटिभ रिपोर्ट दिएका १३ जनामा हङकङ पुगेर परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।


क्लिकमान्डु