सरकारी रिपोर्ट लिएर हङकङ गएका ५ जना यात्रुमा कोरोना पोजिटिभ



काठमाडौं । नेपाल एयरलाइन्सबाट सोमबारको उडानमा हङकङ गएका ५ जना यात्रुको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको छ ।

नेपालबाट सरकारी ल्यावमा गरिएको पीसीआर नेगेटिभ रिपोर्ट लिएर यात्रुमा हङकङ पुगेर परीक्षण गर्दा पोजिटिभ देखिएको हो ।

यसअघि निजी ल्यावमा गरिएको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुको हङकङ पुगेका यात्रुमा पुनः परीक्षण गर्दा पोजिटिभ देखिएपछि तीन पटकसम्म नेपाल एयरलाइन्स प्रतिबन्धमा परेको थियो ।

त्यसपछि गत नोभेम्बरदेखि प्रतिबन्ध खुला भएको थियो । तर प्रतिबन्धपछि गत सोमबार यात्रु बोकेर हङकङ गएको नेपाल एयरलाइन्सका यात्रुृमा फेरि पोजिटिभ देखिएको नेपाल एयरलायन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

नेगेटिभ रिपोर्ट बोकेर हङकङ पुगेका ५ जना यात्रुमा पोजिटिभ देखिएपछि बिहीबारको हङकङ उडान अनिश्चित बनेको श्रेष्ठले जानकारी दिइन् ।

‘हङकङबाट केही पत्र आएको छैन, त्यसैले हालसम्म बिहीबारको उडान निश्चित भएको छैन,’ उनले भनिन् ।

यसअघि अक्टोबरमा २ पटक र नोभेम्बरमा एकपटक नेपाल एयरलायन्सको हङकङ उडानमा प्रतिबन्धित भइसकेको छ ।

यसअघि निजी ल्यावमा गरिएको परीक्षण विश्वस्नीय नभएको भन्दै स्टार अस्पताल, ह्याम्स अस्पता, सुरिया हेल्थ केयर र सेन्ट्रल डाइगोनस्टिक सेन्टरमाथि अनुसन्धान गरिएको थियो ।

त्यसपछि हङकङ उडानको हकमा सरकारी ल्यावमा गरिएको कोरोना परीक्षणलाई मात्रै मान्यता दिने निर्णय गरिएको थियो ।


क्लिकमान्डु