व्यवसाय तत्काल खुला गर्नुपर्ने माग राख्दै ठमेलका व्यवासायीहरु आन्दोलनमा
काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा रात्रीकालिन व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवसाय शुरु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
कोभिड संक्रमणको जोखिमका कारण ८ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिकरुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन् ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले अबपनि व्यवसाय शुरु गर्न नपाए रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति आउने बताए ।
ठमेलको रात्रीकालिन व्यवसाय पूर्णरुपमा खुल्ला गर्न व्यवसायीहरुले माग गरेका छन् । सबै आधिकारीक निकायमा ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाई नभएकाले विरोध प्रदर्शनमा आउन बाध्य भएको पनि व्यवसायीहरुको भनाइ छ ।
अध्यक्ष राणाले सीसीएमसीबाट निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने स्पष्ट पारे ।
रात्रीकालिन व्यवसायीहरुले विभिन्न नारा लेखिएका ब्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् ।
‘काम छैन दाम छैन’, ‘जनता कोरोनाले होइन लापरवाहीले मर्दैछन’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देउ’, ‘यत्रो महिना बन्द गराएर कर र भाडा कसरी तिर्ने’, ‘सरकार व्यवसाय खोलौं की आत्महत्या गरौं’, ‘रोगभन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर व्यवसायीहरु सडक छेउमा उभिएका थिए ।