यती एअरलाइन्सको पर्वतीय उडान मंसिर २० बाट, एउटा टिकट किन्दा अर्को सित्तैमा



काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले आगामी मंसिर २० गते बाट पर्वतीय उडान (माउण्टेन फ्लाईट) पुनः शुरु गर्ने भएको छ ।

आन्तरिक पर्यटकीय गतिविधि बढाउन केही समय अगाडि विभिन्न गन्तव्यहरुको लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले उच्च सतर्कता अपनाएर सुपथ मुल्यमा उडान शुरु गर्न लागेको जानकारी दिएको हो ।

‘गाँउदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने मूल नाराका साथै पर्वतीय उडान गर्न लागेको यतीले नेपाली यात्रुहरु र नेपालमा बसोबास गर्ने विदेशी तथा भारतीय नागरिकका लागि छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

यती एअरलाइन्सले नेपाली यात्रुका लागि ८ हजार ९९९ र नेपालमा बसोबास गर्ने वा काम गर्ने विदेशी तथा भारतीय यात्रुका लागि रु १३ हजार ४९९ मा दुईवटा टिकट दिने जनाएको छ ।

यस अन्तर्गत यात्रुले झ्यालको एउटा टिकट किन्दासंगै रहेको सिटको अर्को टिकट निःशुल्कको प्राप्त गर्नेछन ।

कम्पनीले आफ्नो २२ औँ वार्षिकोत्सव मनाउने क्रममा यात्रुहरुका लागि विभिन्न प्याकेज र अफरहरु घोषणा गर्दै आएको एअरलाइन्सले माउण्टेन फ्लाईटको लागि समेत हालसम्मकै सस्तो र आकर्षक प्याकेज ल्याएको बताएको छ ।

एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत समेत रहेका प्रवक्ता बर्तौलाले उच्च सर्तकता अपनाएर पर्वतीय उडान शुरु गरिएको बताए ।

‘हामिले पर्यटन गतिविधि बढाउन करिब २ महिना अघिदेखि नै कसरत गर्दै यो आकर्षक प्याकेज ल्याएका छौं । यो अवसरलाई सदुपयोग गरी यात्रुुहरुले सस्तोमा विभिन्न हिम श्रृंखलाहरु गौरीशंकर, मेलुम्चे, चोयु, नुप्त्से, आमादब्लम को साथै सगरमाथाको नजिकबाट अनुभव लिन सक्नुहुनेछ,’ उनले भने ।

अब प्रत्येक शनिबार काठमाडौँबाट नियमित पर्वतीय उडानहरु हुनेछन ।

यती एअरलाईन्स संयुक्त राष्ट्रसंघको ‘दिगो विकास लक्ष्य’ प्रबद्र्धनका लागी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूनडिपी) को साझेदार संस्था हो ।

यो एअरलाईन्स दिगो विकास लक्ष्यको एक हिस्साको रुपमा रहेको ‘कार्बन न्यूटर्ल’ गर्ने दक्षिण एशियाकै पहिलो र एकमात्र एअरलाईन्स हो । यती र भगिनी संस्था तारा एअरले नेपालका सबैभन्दा धेरै गन्तव्यहरुमा उडान सेवालाई दिंदै आएको छ ।


क्लिकमान्डु