अनलाइन कारोबार प्रणालीले गर्दा सेयर बजारमा नयाँ कीर्तिमान कायम भयोः नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (नट्स) का कारण बिहीबार सेयर बजारले नयाँ रेकर्ड कायम गर्न सफल भएको जनाएको छ ।

साताको अन्तिम दिन बिहीबार नेप्सेले समग्र सेयर बजार परिसूचक, कारोबार रकम तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा नयाँ कीर्तिमान कायम हुनुमा नट्सको योगदान रहेको जनाएको छ ।

‘कारोबारको आकार वृद्धि हुनुमा नट्सको प्रत्यक्ष योगदान रहेको देखिन्छ । नेप्सेले उपलब्ध गराएको आधुनिक प्रविधिमार्फत लगानीकर्ताले घरबाटै सुरक्षित तबरले सेयरको कारोबार गर्न पाएका छन भने रकम भुक्तानी तथा सेयर हस्तान्तरणमा पनि सहजता आएको छ’ नेप्सेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा २०७५ कात्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार आएको छ । यस क्रममा दोस्रो बजार कारोबार सेवालाई सहज, सुरक्षित, विश्वसनीय तथा पारदर्शी बनाउने नेप्सेको उद्देश्य अनुरुप प्राविधिक, नीतिगत तथा संस्थागत पूर्वाधारहरुमा सुधार गरिएको छ भन्ने उल्लेख रहेको छ ।

बिहीबार ७० हजार ३ कारोबारमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँ बराबरका १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन्। यसैगरी समग्र सेयर बजार परिसूचक नेप्से यस दिन १८९३.२४ विन्दु कायम भएको छ ।

यसअघि मंसिर ७ गते ६ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने २०७३ साउन १२ मा बजार परिसूचक नेप्से १८८१.४५ विन्दुमा पुगेको थियो ।

हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि १ लाख ८५ हजारभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएको नेप्सेको भनाइ छ । बिहीबारको कारोबारमा २३ हजार ५० लगानीकर्ता सहभागी थिए । यस दिन भएको कारोबारमध्ये ८७.७५ प्रतिशत कारोबार अनलाइनमार्फत भएको हो ।


क्लिकमान्डु