भैंसीपाटीमा संघीय मन्त्री निवास दुई चरणमा निर्माण हुँदै, यस्ता हुनेछन् विषेशता



काठमाडौं । ललितपुरको सैंबु भैंसेपाटीमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष तथा प्रतिनिधिसभा उप–सभामुख तथा संघीय मन्त्री निवास दुई चरणमा निर्माणको काम भइरहेको छ ।

सरकार र स्रिको हनुमान जेभीसँग गत वर्ष २०७६ कात्तिक २७ गते सम्झौता भएको आयोजना दुई चरणमा निर्माण हुने भएको हो ।

पहिलो चरणमा २७ वटा भवन, कम्पाउण्ड, सडक, ढल र भौतिक पूर्वाधार निर्माण गरिने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

त्यस्तै दोस्रो चरणमा हरियाली, सुरक्षा, कम्युनिटी हल बनाइने विभागका शहरी विकास आयोजनाका उपप्रमुख प्रकिर्ण तुलाधारले जानकारी दिए ।

विभागका अनुसार आवास क्षेत्रभित्र तीन तहको सुरक्षा व्यवस्था हुनेछ भने सुरक्षाका लागि थप तीन भवन बनाइनेछ ।

निर्माण भइरहेको संघीय मन्त्री निवास ९६ रोपनी १० आना क्षेत्रफलमा बन्ने भएकोे छ । जेभीसँग भ्याटबाहेक १ अर्ब ३ करोड ४६ लाख रुपैयाँमा सम्झौता भएको र आयोजनाको निर्माण अवधि २ वर्ष तोकिएको छ ।

निर्माण भइरहेको मन्त्रीहरूको निवास निर्माण आर्थिक वर्ष २०७६/७७ मा निर्माण कार्यहरू गर्ने गरी आव ०७८÷७९ मा सम्पन्न गर्ने गरी काम भइरहेको विभागले जनाएको छ ।

तर, विभागलाई प्राप्त प्रगति विवरण अनुसार हालसम्म भौतिक प्रगति ३२ प्रतिशत सम्पन्न भएको छ भने १८ प्रतिशत आर्थिक प्रगति भएको आयोजनाका उपप्रमुख तुलाधारले बताए ।

४ वटा आवास तथा पूर्वाधार बन्दै
सैंबु भैसिपाटीस्थित सम्झौता बमोजिम परिसरभित्र ९६ रोपनी १० आना क्षेत्रफलमा बन्दै गरेको आवासमा चार वटा आवासको निर्माण हुने भएको छ ।

जसमा मन्त्रीहरूको निवास प्लिन्थ क्षेत्र २२१.३८ स्क्वाइर मिटर, राष्ट्रियसभाको अध्यक्षको निवास प्लिन्थ क्षेत्र ३७६.९० स्क्वायर मिटर, राष्ट्रियसभाको उपाध्यक्षको निवास प्लिन्थ क्षेत्र २२१.३८ स्क्वायर मिटर र उपसभामुखको निवास प्लिन्थ क्षेत्र २२१.३८ स्क्वायर मिटरमा निर्माण हुने भएको छ ।

जसमा निर्माण भइरहेको प्रत्येक भवन साढे दुई तलामा हुनेछ । साथै, भवनहरू नेपाली परम्परागत शैलीमा बनाइनेछ ।

विभागका अनुसार आवासका लागि छुट्टाइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी भवनले मात्रै ओगट्नेछन् भने ३८ रोपनी ८ आना ग्रिन एरियाका लागि छुट्टाइएको छ ।

त्यस्तै २१ रोपनी जमिन आवासभित्रको आन्तरिक सडकले ओगट्नेछन् । साथै, ११ रोपनीमा हेल्थ क्लब बन्नेछ भने कम्यूनिटी हलका लागि सात आना छुट्टाइएको विभागको भनाइ छ ।

त्यसैगरी, व्यवस्थापन कार्यालयका लागि तीन आना, साढे दुई रोपनीमा ग्रोसरी स्टोर बन्नेछ । त्यसका साथै, बाँकी रहेको जग्गामा एक सय वटा सवारीसाधन अटाउने पार्किङ बनाइने विभागले जनाएको छ ।

मन्त्रीहरूको निवासमा छुट्टै व्यवस्था
निर्माण भइरहेको निवासहरूमध्ये मन्त्रीहरूको निवासमा छुट्टै खालको व्यवस्था हुने भएको छ । जसमा भुईतल्ला, पहिलो तल्ला र तेस्रो तल्लामा छुट्टैछुट्टै कोठाको व्यवस्था हुनेछ ।

जसमा भुईतल्लामा लबी, मिटिङ हल, निजी कोठा, गार्ड कोठा, कर्मचारीका लागि सुत्ने कोठा र भान्साका सामान राख्ने कोठा रहनेछ ।

त्यस्तै पहिलो तल्लामा मन्त्री सुत्ने मुख्य कोठा, बैठक कोठा, बैठक कक्ष, भान्सा र डाइनिङ हल हुनेछ । साथै, दोस्रो तल्लामा भने दुई वटा पाहुना कोठाको व्यवस्था हुने विभागले जनाएको छ ।


क्लिकमान्डु