मेरो सेयर नचल्दा लगानीकर्ता हैरान, सीइओ भन्छन्- समस्या हुँदैन, क्लोजआउटमा कोही पर्दैनन्



काठमाडौं । यतिबेला सिडिएससीले ल्याएको मेरो सेयरमा निरन्तर देखिएको समस्याका कारण सेयर लगानीकर्ता निकै आजित भएका छन् ।

मेरो सेयरबाट सेयर लगानीकर्ताले आईपीओ, एफपीओ, हकप्रद, ऋणपत्रमा आवेदन दिने गरेका छन् । आफ्नो पोर्टफोलियो थाहा पाउने गरेका छन् । तर मेरो सेयर नचल्दा लगानीकर्ता निकै आक्रोशित भएका छन् ।

मेरो सेयर दिउँसो मात्रै होइन, साँझ, राति, बिहान पनि नचल्दा लगानीकर्ता आजित भएका हुन् । यतिबेला लगानीकर्ता मात्रै नभएर आफू पनि यसले निकै हैरानीमा परेको सिडिएससीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पूर्ण प्रसाद आचार्यले बताए ।

उनका अनुसार मेरो सेयरमा देखिएको समस्याका कारण लगानीकर्ताले धेरै नै समस्या पाएको भन्दै भेन्डर कम्पनीलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएको बताए ।

सिइओ आचार्यका अनुसार भेन्डर कम्पनी एफवान सफ्टलाई के कारण मेरो सेयर नचलेको भनेर लिखित प्रस्टिकरण समेत सोधिएको छ ।

गत बुधबार, बिहीबार, शुक्रबार समस्या देखिएपछि भेन्डर कम्पनीलाई तत्काल समस्या समाधान गर्न भनेपछि कम्पनीले रातभरी बसेर समस्या समाधान गर्न पहल गर्दा पनि नसकेको उनको भनाइ छ ।

पहिला थोरै लगानीकर्ता हुँदा बनाएको सिस्टम अहिले मेरो सेयर प्रयोगकर्ता ११ लाखको हाराहारीमा पुगेको हुँदा पनि समस्या देखिएको बताइन थालेको छ ।

भेन्डर कम्पनीले सिस्टममा देखिएको समस्या समाधान गरे भनेपनि त्यसले एसेप्ट नगरेको देखिएको छ । यो सिस्टमलाई अपग्रेड गर्ने तयारी रहेको उनको दावी छ ।

‘आज पनि मैले भेन्डर कम्पनीलाई बोलाएर जनतालाई दुःख बढी भयो तत्काल समस्या समाधान गर भनेर एफ वान सफ्टलाई भनिसकेको छु,’ उनले भने ‘हामीले त्यसको लागि के गर्नुपर्ने हो हामी गर्न तयार छौं, तपाईहरुको डेटाबेसको कारण लगानीकर्ताले समस्या भोग्न नपरोस ।’

आफूले केही दिन चल्ने केही दिनमा नचल्ने खालको सिस्टमलाई हटाएर सदैव निरन्तर चल्ने खालको सिस्टम बनाउन, लगानीकर्ताले दुःख नपाउने गरी सिस्टमलाई अपडेट गर्न आग्रह गरिसकेको आचार्यको भनाइ छ ।

त्यसका लागि थप बजेटको समेत व्यवस्था गर्न सिडिएस तयार रहेको बताए । सिइओ आचार्यले आफ्नो समस्याको कारण कुनै पनि लगानीकर्ता क्लोज आउटमा नपर्ने प्रतिबद्धता जनाएका छन् ।
यसअघि तीन दिनको प्राविधिक समस्या कसैलाई पनि क्लोज आउटमा नपारेको र आगामी दिनमा पनि यस्तो कार्य नगर्ने उनको दावी छ ।

उनका अनुसार यो सिस्टमलाई लगानी थप गरेर भएपनि आगामी दिनमा यस्ता समस्या आउन नदिने तयारीमा रहेको बताए । त्यसका लागि एफ वान सफ्टले रिपोर्ट दिएपछि आवश्यक काम गर्ने बताए ।

आचार्यका अनुसार अब केही दिनभित्रै यो समस्या सधैका लागि समाधान हुने गरी काम भइरहेको बताए । यसमा प्राविधिकका समस्या समाधान गर्नुका साथै क्षमता बढाउने काम पनि भइरहेको बताए ।


क्लिकमान्डु