भारतमा ३८ हजार सङ्क्रमित, पाकिस्तानमा कति ?



काठमाडौं । कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकको अग्रपक्तिमा रहेको भारतमा थप झण्डै ३८ हजार मानिस सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ९७५ जना सङ्क्रमित भएका हुन् ।

योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ९१ लाख ७७ हजारभन्दा बढी पुगेको अधिकारीले जानकारी दिएका छन् ।

सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाको संख्या भने ८६ लाख पुगेको पनि भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ३४ हजार २१८ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये ४८० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

पछिल्लो एक दिनमा मृत्यु भएकामध्ये १२१ जना केन्द्रीय राजधानी दिल्लीका मात्रै रहेको जनाइएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको संख्या भने पाँच लाख भन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।
पाकिस्तानमा संक्रमण बढ्दो

पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सो मन्त्रालयका अनुसार यहाँ एकै दिनमा गएको २४ घन्टायता २ हजार ९५४ जना संक्रमित भेटिएका हुन् ।यहाँ पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु झन् बढ्दै गएको देखिएको छ । प्राप्त समाचारअनुसार यहाँ यो संगै संक्रमितको संख्या ३ लाख ७९ हजार ८८३ जना पुगेको छ ।

पाकिस्तानमा भाइरसको संक्रमणबाट ७ हजार ७४४ जनाको ज्यान गएको छ । हाल यहाँ ४० हजारभन्दा बढी सक्रिय संक्रमित रहेका बताइएको छ ।

यहाँ पछिल्लो समयमा भाइरसको संक्रमण बढ्दै गएपछि कतिपय राज्यहरुमा सार्वजनिक काममा प्रतिबन्ध लगाइएको छ । यहाँ शुरुमा संक्रमण त्यति नरहेको र निको हुने दर पनि राम्रो रहेको बताइएको थियो ।


पुष्प दुलाल