यी हुन् नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने व्यक्ति, कति तिरे ?



काठमाडौं । प्रत्येक वर्ष कर दिवषको अवसरमा आन्तरिक राजस्व कार्यालयले सबैभन्दा बढी कर तिर्ने व्यक्ति र संस्थाहरुको सूचि सार्वजनिक गर्छ । र, सम्मान पनि ।

पछिल्लो ६ वर्षदेखि लगातार सिद्धार्थ राणा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेर राज्यबाट सम्मानित भए । तर, राणाले के कति आयकर तिरे भनेर सार्वजनिक भएको छैन ।

त्यसैले तपाईं हाम्रो मनमा प्रश्न उब्जिन्छ- सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिले कति रकम राज्यलाई बुझाएको होला ?

तर अहँ यसबारे तपाईं हामीलाई कसैले पनि जानकारी दिँदैनन् । किनभने व्यक्तिले तिरेको कर गोप्य राखिन्छ । कम्पनीले तिरेको कर मात्रै सार्वजनिक गरिन्छ ।

सिद्धार्थ राणालाई पछि पार्दै विजयकुमार शाहले व्यक्तिगततर्फ धेरै आयकर तिरे, बैंकमा नबिल

तर यसपटक भने हामी तपाईंहरुलाई एउटा यस्तो एक्सक्लुसिभ सूचना दिँदैछौं, जुन तपाईंले वर्षौंदेखि जान्न खोजिरहनु भएको थियो । त्यो हो- आर्थिक वर्ष आयकरतर्फ २०७५/७६ को आधारमा र भ्याटतर्फ २०७६/७७ को विवरणको आधारमा यो वर्ष आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने बिजयकुमार शाहले तिरेको आयकरको विवरण ।

आन्तरिक राजस्व विभागले विभिन्न शीर्षकमा बढी कर बुझाउनेको सूची सार्वजनिक गरेकोमा यो वर्ष एउटा नाम अघिल्ला वर्षको भन्दा फरक आयो । त्यो हो, व्यक्तिगततर्फ सर्वाधिक आयकर बुझाउनेमा यो पटक जावलाखेल ग्रुप अफ इण्डष्ट्रीका विजयकुमार शाह थिए ।

पछिल्ला वर्षहरुमा सर्वाधिक आयकर बुझाउनेमा व्यवसायी सिद्धार्थ शमशेर राणाको नाम आउने गरेको थियो । राणा पछिल्लो ६ वर्षसम्म व्यक्तिगतरुपमा सर्वाधिक आयकर बुझाउने व्यक्ति बनेका थिए ।

विजयकुमार शाह नेपालमा मदिरा व्यवसायको बादशाह नै हुन् । आन्तरिक राजस्व कार्यालयका स्रोतका अनुसार आर्थिक वर्ष २०७५/७६ मा शाहले १५ करोड २७ लाख रुपैयाँ आयकरवापत बुझाएका छन् ।

यो पटक कम्पनीहरुमा सर्वाधिकर आयकर सुर्य नेपाल प्रालिले बुझाएको छ । जुन लगातार ६ वर्षसम्म व्यक्तिगततर्फ सर्वाधिक आयकर बुझाउने सिदार्थ शमशेर राणाको कम्पनी हो ।

सर्वाधिक आयकर तिर्ने शाह को हुन् ?

विजयकुमार शाह नेपालमा मदिरा व्यवसायको बादशाह नै हुन् । जावलाखेल ग्रुप अफ कम्पनीअन्तर्गत हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एशियन डिस्टिलरी, रोलिङ रिभर डिस्टिलरी, राज डिस्टिलरी लगायतका कम्पनी छन् । जसले रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर वियरलगायत डेढ दर्जन बढी ब्राण्डमा मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

सन् १९६९ मा अमेरिकाबाट अध्ययन गरेर फर्केपछि उनले आधुनिक मेसिन ल्याएर नेपालमा मदिरा व्यवसायको सुरुवात गरेका थिए । जावलाखेल ग्रुप अफ इण्डष्ट्रीले उत्पादन गरेको रुस्लान भोड्का नेपालमा भोड्का सेगमेन्टमा लिडिङ ब्राण्ड हो ।

कति तिरे शाहले कर ?

व्यक्तिगततर्फ ६ वर्षसम्म सर्वाधिक आयकर तिरेका राणालाई पछाडि पारेका शाहले १५ करोड २७ लाख रुपैयाँ आयकर बुझाएका छन् ।

आन्तरिक राजस्व कार्यालयका स्रोतका अनुसार आर्थिक वर्ष २०७५/७६ मा शाहले १५ करोड २७ लाख रुपैयाँ आयकरवापत बुझाएका हुन् । सो वर्ष दोस्रो सूचिमा राणा नै छन् ।

शाह निकट स्रोतका अनुसार उनले सो वर्ष तलब बुझेर बुझाएको कर भने होइन । उनले सो वर्ष आफ्नो नाममा भएको सम्पत्ति बिक्री गरेका थिए । जसको कर बुझाएका थिए ।

व्यक्तिगतरुपमा उनको प्यान नम्बरबाट बुझाएको देखिएको हुँदा सो वर्ष सर्वाधिक कर बुझाउनेमा शाह परेका हुन् । जसले गर्दा उनले यो वर्ष सर्वाधिकर आयकर बुझाएको भनेर सम्मान पाउन लागेका छन् ।

स्रोतहरुका अनुसार शाहले जग्गा र अन्य स्थिर सम्पत्ति बिक्री पनि गरेका छन् । जसकारण पनि उनी यसपटक सबैभन्दा बढी कर तिर्ने व्यक्ति बन्न सफल भएका हुन् ।

व्यक्तिगत आयकर भनेको के हो ?

कुनैपनि व्यक्तिले व्यक्तिगतरुपमा गरेको आम्दानीबाट सरकारलाई तिरेको कर नै व्यक्तिगत आयकर हो । व्यक्तिले जागिरबाट आउने तलबभत्ता, आफूले सञ्चालन गर्ने कम्पनीमा सञ्चालक भएबापत आउने तलबभत्ता तथा बोनस, आफ्नो नाममा भएको अन्य चलअचल सम्पत्ति बिक्री गर्दा हुने आम्दानीबाट तिर्ने कर व्यक्तिगत आयकरभित्र पर्छन् ।

कुनैपनि व्यक्ति वा संस्थाले आफ्नो आम्दानी आफ्नो वा कम्पनीको प्यान नम्बरमा देखाउँछन् । र, सरकारको नियमअनुसार कर तिर्छन् । व्यक्तिगत प्यान नम्बरमा देखिएको आम्दानीबाट दाखिला गरेको करलाई व्यक्तिगत आयकर भनिन्छ ।

राज्यलाई कर तिर्नु असल नागरिकको दायित्व हो । शाहले सामान्य मान्छेजस्तै नागरिक दायित्व बहन गरेका हुन् । कर कार्यालयले पनि आफ्नो कार्यक्षेत्रभित्र सबैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गर्छ ।

यी हुन् बढी कर तिर्ने कम्पनी

निर्यात गर्ने कम्पनीमा सबैभन्दा बढी आयकर डाबर नेपाल प्रालिले तिरेको छ । आयकर तिर्ने विशेष उद्योगमा हिमाल पावर कम्पनी छ ।

कृषि क्षेत्रमा अन्नपूर्ण एग्रो रहेको छ । सहकारी लघुवित्तमा छिमेक लघुवित्त, बैंकमा नबिल बैंक, बीमा पुनरर्बीमा, शिक्षामा मनिपाल एजुकेशन, विप्रेषणमा आइएमई रेमिटेन्स, व्यापारमा अग्नी इन्कप्रोरेट, पर्यटनमा तारागाउँ र मध्यमस्तरमा कामना सेवा विकास बैंक रहेका छन् ।

आन्तरिक राजस्व कार्यालयको क्षेत्रमा सबैभन्दा बढी तिर्नेमा भिएफ सर्भिस र व्यक्तिगततर्फ सर्वाधिक आयकर तिर्नेमा विजयकुमार शाह छन् । समयमा मूल्य अभिबृद्धि कर बुझाएर घोराही सिमेन्टले सम्मान पाउन लागेको हो ।


पुष्प दुलाल