काठमाडौंका कुन अपार्टमेन्टमा कति भाडा तिरेर बस्न पाइन्छ ?



काठमाडौं । पछिल्लो समय अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर बस्ने चलन बढ्दै गएको छ । मानिसहरुको आम्दानी बढेसँगै अपार्टमेन्ट भाडामा लिएर बस्ने चलन बढेको हो ।

अपार्टमेन्टको भाडा अलि महंगो हुन्छ । तर सुविधा र सुरक्षाका कारण राम्रो आम्दानी हुनेहरु अपार्टमेन्ट लिएर बस्न रुचाउँछन् ।

काठमाडौंमा मासिक २० हजारदेखि ३ लाख रुपैयाँसम्म भाडा तिरेर अपार्टमेन्टमा बस्न पाइन्छ । अपार्टमेन्टको सेवा सुविधा र लोकेशन अनुसार भाडादर फरक फरक तोकिएको छ । प्राइम लोकेशनमा भएका र धेरै प्रकारका सुविधा भएका अपार्टमेन्ट महंगा छन् ।

अपार्टमेन्टमा बस्दा जीम, खेल मैदान, ज्याकुजी, साउना, थियटर, स्वीमिङ पुल, खुला ठाउँ, पार्किङ लगायतका सुविधाहरुको भरपूर उपभोग गर्न पाइन्छ ।

खासगरी आइएनजीओ र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुमा काम गर्ने कर्मचारीहरु अपार्टमेन्ट भाडामा लिएर बस्ने गर्छन् । त्यसबाहेक नेपाल घुम्न आउने विदेशीले पनि अपार्टमेन्ट भाडामा लिन्छन् । प्रायजसो नेपालीहरु चाहीँ भाडामा लिएर भन्दा आफैं अपार्टमेन्ट किनेर बस्छन् । यद्यपि राम्रो कमाइ भएका नेपालीहरुले पनि अपार्टमेन्ट भाडामा लिएर बस्न थालेको व्यवसायीहरु बताउँछन् ।

‘अपार्टमेन्ट भाडामा लिएर बस्ने नेपालीहरु दिनानूदिन बढ्दैछन्,’ डाउनटाउन हाउजिङका सञ्चालक मिनमान श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘पछिल्लो समय राज्यको असहयोगी नीतिका कारण अपार्टमेन्ट बनाउन कठिन भइरहेको छ । अहिले पनि बनाउने हो भने हजारौं युनिटहरु बिक्री गर्न वा भाडामा लगाउन सकिन्छ ।’

इम्पेरियल अपार्टमेन्ट, सानेपा

ललितपुरको सानेपा हाईटमा रहेको इम्पेरियल अपार्टमेन्ट भाडामा लिएर बस्नका लागि मासिक १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म भाडा तिर्नुपर्छ । यो अपार्टमेन्टमा ३ बेडरुमका फ्ल्याट छन् । सबै फ्ल्याटहरु फुल फर्निसिङ हुन् । यो अपार्टमेन्टमा अधिकांश विदेशीहरु भाडामा बस्छन् ।

सेन्ट्रल पार्क अपार्टमेन्ट, विशालनगर

काठमाडौंको बिशालनगरस्थित सेन्ट्रल पार्क अपार्टमेन्टमा ८० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म भाडा तिर्नुपर्छ । २ बेडरुमको ८० हजारदेखि १ लाख रुपैयाँ, ३ बेडको १ लाख १० हजार रुपैयाँदेखि १ लाख ३० हजार रुपैयाँसम्म, ४ बेडको १ लाख ३० हजारदेखि एक लाख ५० हजाररुपैयाँसम्म मासिक भाडा तिर्नुपर्छ ।

सिल्भर सिटी अपार्टमेन्ट, कालिकास्थान

काठमाडौंको मुटु मानिने कालिकास्थानििस्थत सिल्भर सिटीमा अपार्टमेन्टमा ३ बेडरुमको फ्ल्याटलाई ८० हजारदेखि १ लाख र ५ बेडरुमको फ्ल्याटलाई १ लाख ५० हजार रुपैयाँसम्म मासिक भाडा तिरेर बस्न सकिन्छ ।

डाउनटाउन अपार्टमेन्ट, हात्तीवन

ललितपुरको हात्तीवनस्थित डाउनटाउन अपार्टमेन्टले २ बेडरुपमको फ्ल्याटहरु पनि भाडामा लगाउँदै आएकोछ । जसको मासिक भाडा ३५ देखि ४० हजार रुपैयाँ पर्छ भने ३ बेडरुमको फ्ल्याटलाई ५० देखि ५० हजार रुपैयाँ भाडा तिर्नुपर्छ ।

सिटी भ्यू अपार्टमेन्ट, झम्सिखेल

ललितपुरको पर्यटकीय ठाउँ झम्सिखेलस्थित सिटी भ्यू अपार्टमेन्टमा पनि २ बेडरुमका अपार्टमेन्ट भाडामा पाइन्छ । जसको मासिक भाडा ८० हजारदेखि १ लाख रुपैयाँसम्म पर्छ ।

वेस्टार रेसिडेन्सी, बालकुमारी

ललितपुरको बालकुमारीस्थित वेस्टार रेसिडेन्सीमा २ र ३ बेडरुमका फ्ल्याट भाडामा पाइन्छन् । जसको मूल्य ५० हजारदेखि ९० हजार रुपैयाँसम्म पर्छ ।

ग्रान्डी अपार्टमेन्ट, टोखा

काठमाडौंको टोखास्थित ग्रान्डी अपार्टमेन्टमा मासिक ४० देखि ८० हजार रुपैयाँसम्ममा २ देखि ३ बेडरुमका फ्ल्याटहरु भाडामा लिएर बस्न पाइन्छ ।

कम्फर्ट हाउजिङ, पानीपोखरी

काठमाडौंको पानीपोखरीस्थित कम्फर्ट हाउजिमा २ बेडरुमको फ्ल्यट ८० हजार र ३ बेडरुमको फ्ल्याट १ लाख रुपैयाँ मासिक भाडा तिरेर बस्न सकिन्छ ।


पुष्प दुलाल