सेयर लगानीकर्ताले केवाईसी फारम भर्दा शुल्क तिर्नुपर्ने, लगानीकर्तालाई के छ फाइदा ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले केन्द्रिकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७७ स्वीकृत गरेसँगै लगानीकर्ताले केवाईसी भर्दा पैसा तिर्नुपर्ने भएको छ ।

बोर्डले उक्त निर्देशिका स्वीकृत गरेसँगै सीडीएससी एण्ड क्लिरिङले प्रयोगमा ल्याउन लागेको केवाईसी भर्दा लगानीकर्ताले पैसा तिर्नुपर्ने भएको हो ।

सिडिएससीले बोर्डमा पठाएको सुझावमा २०० रुपैयाँ लिने भनेर प्रस्ताव गरेको थियो । तर बोर्डले निर्देशिका स्वीकृत गर्दा लाग्ने शुल्क भने उल्लेख गरेको छैन । लाग्ने शुल्क लगानीकर्तालाई आर्थिक भार नपर्ने गरी शुल्क कायम गर्न निर्देशन दिएको हो ।

सिडिएससीले यस विषयमा छलफल गरेर आवश्यक व्यवस्था गर्ने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानले बताए ।

यसका लागि सिडिएसीमा छलफल हुने र शुल्क निर्धारण हुनेछ । यसरी केवाईसी खोलेको पनि यो पुँजीबजारको क्षेत्रमा जहाँ पनि प्रयोग गर्न सकिने छ ।

एकपटक केवाईसी भरेपछि पुँजी बजारका कुनै पनि स्थान वा ब्रोकरमा गएर भरिरहनु पर्दैन । न्यौपानेका अनुसार ब्रोकर कार्यालय, डिपीमा जाँदा केवाईसीको आईडी दिएको हुन्छ । त्यो नम्बरले काम गर्नेछ ।

जस्तै कुनै ‘ए’ भन्ने ब्रोकरमा डिम्याट खाता खोलेको छ, त्यो मन परेन र भोलि अर्को ‘बी’ भन्ने ब्रोकरमा खाता खोल्न जानु परेको खण्डमा फेरि केवाईसी भरिरहनु पर्दैन ।

सिडिएससीले दिएको केवाईसी आईडीले नै काम गर्नेछ । अहिले जस्तो लगानीकर्ताले ब्रोकर कार्यालय पिच्छे नै केवाईसी भरिरहनु पर्दैन ।

केवाईसी फर्म भर्ने व्यवस्था अनलाइनबाट नै गर्ने तयारीमा सिडिएससी रहेको न्यौपानेले बताए । यसका लागि सिस्टममा केही सुधार गर्न आवश्यक रहेको छ । त्यो सुधार गरेपछि यो कामले पूर्णता पाउने उनको भनाइ छ ।

अहिले सेयर लगानीकर्ताले ब्रोकर कार्यालयमा गएर केवाईसी भर्दा कुनै पनि शुल्क लाग्दैन । तर एक ब्रोकरमा भरेको फर्म अर्को ब्रोकरमा काम लाग्दैन थियो ।

अब सिडिएससीमा शुल्क तिरेर केवाईसी फर्म भर्दा भने एकपटक भरेपछि पुँजीबजारका सबै निकायमा त्यसैले काम गर्नेछ ।

केन्द्रिकृत विद्युतीय ग्राहक पहिचान विवरण सेवा सञ्चालनमा आएपछि धितोपत्र बजारमार्फत् सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाँउमा पेश गर्न झण्झट नहुने भएको छ ।

यसले लगानीकर्तालाई धितोपत्र कारोबार प्रक्रियामा सहज एंवम् सरल हुने देखिएको छ । यसरी केवाईसी भर्दा समग्र धितोपत्र बजार प्रविधिमैत्री हुँदै जाने र बजार विकासमा समेत टेवा पुग्ने देखिएको छ ।

यो व्यवस्था कार्यान्वयनमा आउन भने अझै केही समय लाग्नेछ । यो व्यवस्था कार्यान्वयनमा ल्याउनु पूर्व सिडिएससीले ग्राहकको केवाईसी विवरणको गोपनीयता तथा सुरक्षामा ध्यान दिन धितोपत्र बोर्डले भनेको छ ।

त्यस्तै केवाईसी विवरणको दुरुपयोग गरेमा कानूनी कारबाही सम्बन्धी पनि व्यवस्था मिलाउनु पर्नेछ ।


क्लिकमान्डु