विजय लघुवित्तको खराब कर्जा बढ्यो, नाफा घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विजय लघुवित्त वित्तीय संस्थाको नाफा १ करोड ७६ लाख ४५ हजार रुपैयाँमा सिमित बनेको छ । यो अवधिमा संस्थाको नाफा २१.५७ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिका संस्थाको नाफा २ करोड २५ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिका संस्थाको नाफासँगै खुद ब्याज आम्दानीमा बढोत्तरी भएपनि सञ्चालन मुनाफामा ऋणात्मक बनेको छ । गत आवको पहिलो त्रैमासमा ६ करोड १ लाख ८२ रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा खुद ब्याज आम्दानी बढेर ६ करोड ५८ लाख ८४ हजार रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन मुनाफा गत आवको पहिलो त्रैमासमा २ करोड ७७ लाख ३८ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ३५ लाख ४९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । २२ करोड ४० लाख ३१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १२ करोड ४२ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा २.२२ प्रतिशतबाट बढेर ३.४४ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ४७ पैसा रहेको छ ।