‘मानहुँकोट’ डाँडामा अब दैनिक ३०० जनाले मात्रै प्रवेश पाउने



काठमाडौं । पछिल्लो समय आन्तरिक पर्यटकको भरिभराउ भएको तनहुँको ब्यास नगरपालिका वडा नम्बर ५ मा पर्ने मानहुँकोट डाँडामा अब दैनिक ३ सय जनाले मात्रै प्रवेश पाउने भएका छन् ।

शनिबार एक्कासी १५ हजारभन्दा बढी आन्तरिक पर्यटक पुगेपछि स्थानीय निकायलाई व्यवस्थापन गर्न भ्याइनभ्याइ भएको थियो ।

टिकटकबाट भाइरल भएको ‘मानहुँकोट’ डाँडामा एकैदिन १५ हजारको भीड, कसरी जाने, के गर्ने ?

अत्यधिक भिड भएपछि कोरोना महामारीको जोखिम बढ्ने भन्दै व्यवस्थापन गर्न आइतबार पर्यटन व्यवस्थापन समितिको बैठक बसेको थियो ।

बैठकले दैनिक ३ सयजना मात्रै जान पाउने निर्णय गरेको ब्यास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहन श्रेष्ठले क्लिकमाण्डूलाई जानकारी दिए ।

‘आइतबार दिउँसो बसेको बैठकले अत्यधिक भिडले कोरोना भाइरसको जोखिम बढाउन सक्ने भएकाले दैनिक ३ सयजनाले मात्रै प्रवेश पाउने निर्णय गरेको छ, तर यो स्वस्फूर्तरुपमा यहाँ आउने पर्यटक व्यवस्थापनमा चुनौतीपूर्ण हुने देखिएको छ,’ उनले भने ।

उनका अनुसार अन्य दिनको तुलनामा शुक्रबार र शनिबारका दिन हजारौं मानिसहरु मानहुँकोट डाँडामा सुर्योदय र कुहिरो हेर्न आउन थालेका छन् । यसले गर्दा बसोबास र खानाका लागि पनि समस्या सिर्जना भएको थियो ।

कोरोनापछिको पर्यटनमा सकारात्मक संकेत, आन्तरिक पर्यटकका कारण चहलपहल बढ्यो

बैठकले सुरक्षा निकायको सहयोगमा सीमित संख्यामा मात्रै पर्यटकलाई प्रवेश दिने निर्णय गरेको हो । यसका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर प्रहरी नै खटाउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अब दमौली बजारबाट उकालो लाग्ने प्रवेश विन्दुमा भोलिदेखि डेस्क स्थापना गरी मास्क र सेनिटाइजर अनिवार्य गराउने र सबैको रजिष्ट्रेसन समेत गर्ने निर्णय गरेको छ ।

सोमबार दिउँसो यसबारेमा दिनभर ब्यास नगरपालिकामा माइकिङ समेत गरिएको छ ।

श्रेष्ठले मानहुँकोटमा आउनुभन्दा अघि नै जानकारी दिएमा व्यवस्थापन गर्न सहज हुने समेत उनले बताए ।


क्लिकमान्डु