कोरोनापछिको पर्यटनमा सकारात्मक संकेत, आन्तरिक पर्यटकका कारण चहलपहल बढ्यो



फाइल

काठमाडौं । कोरोना महामारीका कारण बन्द भएका पर्यटकीय गन्तव्य यतिबेला विस्तारै खुल्न थालेका छन् ।

लामो समय बन्द भएका गन्तव्यहरु यतिबेला विभिन्न मापदण्ड पालना गर्दै पर्यटक स्वागत गर्न थालेका छन् ।

विभिन्न पर्यटकीय गन्तव्यमा पुगेका पर्यटकको संख्या हेर्दा यस्तो लाग्छ कि लामो समयसम्म घरभित्र खुम्चिएका आन्तरिक पर्यटकहरु ‘फ्रेस’ हुने उपयुक्त विकल्पको पर्खाइमा थिए ।

यद्यपि सबै गन्तव्य भने पर्यटकका लागि अझै खुला गरिएको छैन । सीमित संख्यामा मात्रै खोलिएका गन्तव्यहरुमा भने पर्यटकहरु मापदण्ड पालना गरेर भए पनि जान थालेका पर्यटकको उत्साहले पर्यटन क्षेत्रमा सकारात्मक संकेत स्पष्ट देखिएको छ ।

यसले लामो समयदेखि बन्द भएको पर्यटन क्षेत्रमा आशाका किरण पलाएको देखिएको छ ।

पर्यटकीय नगरी पोखरामा दशैंसँगै आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ भने बञ्जी जम्प, प्याराग्लाइडिङ जस्ता पर्यटकीय खेल पनि शुरु भएका छन् ।

खासगरी असोजदेखि मंसिर महिनासम्मको महिना आन्तरिक पर्यटकको बढी चहलपहल हुने महिना हो ।

पोखरा, चितवन, लुम्बिनीलगायतका क्षेत्रमा जुनसुकै समयमा पनि पर्यटकको राम्रो उपस्थिती हुने भए पनि पहाडी र हिमाली क्षेत्रका गन्तव्यमा भने यो समयमा बढी पर्यटक जान्छन् ।

हाल घान्द्रुक, घोरेपानी, पुनहिल, रारालगायतका क्षेत्र पर्यटकका लागि अझै पनि ढोका बन्द भए पनि लुक्ला, मार्दीलगायतका क्षेत्रमा भने पर्यटकको चहलपहल शुरु भइसकेको छ ।

अन्य क्षेत्र बन्द भएका बेलामा यसको सकारात्मक प्रभाव एभरेष्ट ट्रेकिङमा जाने क्षेत्रमा परेको छ । लुक्ला, नाम्चेहुँदै एभरेष्ट बेसक्याम्पसम्म जानेहरुको विगतका वर्षमा भन्दा यस वर्ष बढेका छन् ।

काठमाडौंबाट हवाईमार्ग भई लुक्ला जाने र त्यहाँबाट ट्रेकिङ गर्दै नाम्चेसम्म पुग्नेहरु यस वर्ष बढेका छन् । लुक्ला विमानस्थलका अनुसार अहिले दैनिक ३० हजारको औसतमा पर्यटकहरु पुग्ने गरेका छन् । साथै हालसम्म ३ सयभन्दा बढी पर्यटकले यस सिजनमा लुक्ला पुगिसकेका छन् ।

त्यसैगरी चितवनको सौराहमा पनि पर्यटकको उपस्थिती बाक्लो हुन थालेको छ । जसले गर्दा पर्यटक व्यवसायीहरु उत्साही भएका छन् ।

अपेक्षाभन्दा बढी पर्यटकको आगमन भएसँगै सौराह बजार यतिबेला गुल्जार बनेको छ । लामो समयको बन्दपछि बजार खुल्दा शुरुवाती समयमा अपेक्षाकृतरुपमा पर्यटक नगए पनि दशैं लगत्तै भने घुम्न जाने पर्यटकको संख्या बढ्दा व्यवसायीहरु उत्साही भएका छन् ।

व्यवसायीहरुले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइसकेका छन् ।

सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि विदामा रहेका कर्मचारी डाकेर होटल सञ्चालकहरुले व्यवस्थापन गर्न थालेका छन् ।

पछिल्लो समय रसुवा घुम्न जाने पर्यटकमा पनि बढोत्तरी भएको छ । कोरोना महामारीका कारण करिब ७ महिनादेखि ठप्प रहेको होटल तथा पर्यटन व्यवसायलाई केही दिनदेखि घुम्न र बास बस्न आउने आन्तरिक पर्यटकको संख्याले व्यवसायीहरुलाई उत्साहित बनाएको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान गजुरेलले बताए ।

त्यसैगरी पछिल्लो समय ट्रेकिङका लागि पनि विभिन्न १२ वटा गन्तव्य खुला भइसकेको छ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अनुसार हाल कञ्चनजंगा, सगरमाथा आधार शिविर, लाङटाङ, अन्नपूर्ण सर्किट, मार्दी हिमाल, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मनास्लु, हेलम्बु र रुवीभ्याली पदयात्राका लागि खुला गरिएको छ ।

जसमध्ये केही गन्तव्यमा पर्यटकको उपस्थिती देखिन थालेको छ । यी अधिकांश क्षेत्रमा पर्यटक जानका लागि ७२ घण्टाभित्रको पीसीआर परीक्षण अनिवार्य गरिए पनि पर्यटकहरु त्यस्ता क्षेत्रमा गएका छन् ।

त्यति मात्रै होइन, हवाई उडान शुरु भएसँगै निजी क्षेत्रका वायुसेवा कम्पनीहरु बुध्द एयर र यति एयरलाइन्सले पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न प्याकेज समेत ल्याएका छन् । जसमा आन्तरिक पर्यटकहरुको आकर्षण पनि बढेको देखिएको छ ।

बुध्द एयरले पोखरा र चितवनका लागि प्याकेज ल्याएको थियो भने यति एयरलाइन्सले लुक्लादेखि पोखरा र चितवनसम्मका विभिन्न सस्ता प्याकेज ल्याएको थियो ।


क्लिकमान्डु