ब्रोकर कमिशन सम्बन्धी अध्ययन भयो, चाँडै अन्तिम रुप दिन्छौंः सेबोन अध्यक्ष ढुंगाना
काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्माराज ढुंगानाले ब्रोकर कमिशन सम्बन्धी अध्ययन भइसकेको र सरोकारवाला पक्षसँग छलफल गरी अन्तिम रुप दिने बताएका छन् ।
स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीसँगको भेटमा अध्यक्ष ढुंगानाले यस्तो बताएका हुन ।
उनले ट्रेड म्यानेजमेनज सिस्टम (टिएमएस)लाई थप प्रभावकारी बनाई बैंक इन्टिग्रशनको काम चाडै सक्नुपर्ने बताए । अध्यक्ष ढुंगानाले लगानीकर्ताहरुले चाहना अनुरुपका धितोपत्र बजारका विभिन्न उपकरणमा लगानी गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको लगानीकर्तामैत्री बजार बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, मार्जिन कारोबारलाई विस्तार गरी धितोपत्रको तरलता प्रदान गर्ने औजारको रुपमा विकास गर्ने, ऋणपत्रको दोस्रो बजार विस्तार गर्ने, ब्रोकरको शाखा कार्यालयमार्फत् दोस्रो बजारको पहुँच विस्तार गर्ने उल्लेख गरे । उनले आधिकारिक प्रतिनिधिका लागि पाठ्यक्रम विकास गरी ऐन अनुसार सो व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउने जानकारी गराए ।
भेटमा एशोसियशनका नवनियुक्त अध्यक्ष सन्तोष मैनालीले कोभिड-१९ का कारण धितोपत्रको दोस्रो बजारमा अवसर र चुनौती दुवै आएको उल्लेख गरे । यसबीचमा अनलाइनमार्फत् कारोवार गर्ने लगानीकर्ताको संख्यामा उल्लेख बृद्धि भई दोस्रो बजारको दायरा बढिरहेकोमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई नयाँ उपकरणमार्फत् लगानीको थप अवसर प्रदान गर्न आवश्यक रहेको जानकारी गराए ।
बजार विस्तार गर्ने चुनौती कायमै रहेको तथा धितोपत्रको दोस्रो बजार प्रविधिमैत्री हुदै गर्दा ट्रेड म्यानेजमेनज सिस्टम र यसमा निहित जोखिम व्यवस्थापनका लागि छुट्टै संरचना र नीति ल्याई धितोपत्रको दोस्रो बजार कारोवारलाई व्यवस्थित बनाउनुपर्ने विचार व्यक्त गरे ।
भेटमा एशोसियशनका उपाध्यक्ष धर्मराज सापकोटाले धितोपत्रको दोस्रो बजार सेवालाई थप संस्थागत बनाउदै लैजान आवश्यक रहेकोले त्यसमा एशोसियशनले विशेष भूमिका खेल्ने बताए । नियमन निकायको रुपमा बोर्डले दिने निर्देशनको अक्षरस पालना गर्दै जाने र बजार विकासका लागि बोर्डबाट अभिभावकको भूमिका अपेच्छा गरेको बताए ।