मासिक २ लाखबढी तलब तोकेर जापानले माग्यो नेपाली कामदार



काठमाडौं । नेपाली विद्यार्थी तथा अन्य कामदारको पनि आकर्षित गन्तव्य बनेको जापानमा विभिन्न क्षेत्रको कामको लागि २३ जना कामदारको माग गरेको छ ।

अक्सन इन्टरनेशनल प्रालिका अनुसार जिट्को अन्तर्गत जापानको विभिन्न शहरस्थित विभिन्न कम्पनीमा रोजगारीको माग भएको हो ।

कम्पनीले रोजगारीका लागि योग्यता पुगेका नेपाली औद्योगिक प्रशिक्षार्थी तथा अभ्यासार्थी कामदार माग भई आएको हुँदा इच्छुक नेपाली प्रशिक्षार्थीले आजको मितिबाट १५ दिनभित्र कम्पनीको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।

त्यसैगरी रोजगारीका लागि प्रशिक्षार्थीले (सेवा शुल्क, यातायात, भिषा तथा प्रबर्द्धन खर्च समेतको) कुल खर्च गरी १० हजार तिर्नुपर्ने हुन्छ ।

कम्पनीको अनुसार रोजगारीको लागि १४ जना महिला र ९ जना पुरुष गरी २३ जना कामदारको माग गरेको छ ।

उक्त रोजगारीमा जाने कामदारको मासिक तलब न्यूनतम एक लाख ५८ हजारदेखि २ लाख १२ हजार हुनेछ । साथै, रोजगारीको करार अवधि ३ वर्ष तोकेको छ ।

त्यसैगरी, प्रतिदिन काम गर्ने घण्टा ८ तोकेको छ भने हप्तामा ५ दिन मात्रै काम गर्नुपर्ने उल्लेख गरेको छ । यसका साथै, कम्पनी अनुसार ओभरटाइमको सुविधा, वार्षिक विदाका साथै खाना तथा बस्नेको सुविधा रहेको कम्पनीले जनाएको छ ।

यस्तो छ कम्पनीले तोकेको योग्यता

कम्पनीका अनुसार रोजगारीका लागि प्रशिक्षार्थीको उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने, सरकारको उद्योग मन्त्रालय अन्तर्गतको निकायहरूमा तीन वर्ष पूरा दर्ता भई सञ्चालन भइरहेको औद्योगिक प्रतिष्ठान, उद्योग व्यवसाय, कलकारखाना, कृषि सहकारी, सामुदायिक संघ संस्था, होटल, पर्यटन व्यवसाय अर्थात् सेवा तथा वस्तु उत्पादन व्यवसाय जस्ता क्षेत्रमा कम्तिमा २ वर्ष काम गरेको अनुभव हुनुपर्ने उल्लेख गरेको छ ।

त्यसैगरी, कृषि सम्बन्धि कामका लागि सम्बन्धित उद्यम उद्योग वा सम्बन्धित विषयको सहकारी वा सामुदायिक संस्थामा कम्तिमा दुई वर्ष अनुभव हुनुपर्ने, जापानमा प्रशिक्षर्थी कामदारको रुपमा जान खोजेकोमा नेपालमै उद्योग, प्रतिष्ठान, संस्था वा निकायहरुमा काम गरिरहेको हुनुपर्ने र जापानी भाषा तथा संस्कृतिका सम्बन्धमा तालिम लिएको हुनुपर्ने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल