अर्थमन्त्रीले निर्देशन दिएको ३ दिनमै कोरोना बीमाको दावी भुक्तानी रु. ६ करोड, अब कति बाँकी छ ?



काठमाण्डौं । कोरोना बीमा दावी भुक्तानी कम्पनीहरुले धमाधम भुक्तानी गर्न थालेका छन् ।

लामो समयसम्म अत्याधिक बक्यौता राखेका दावी भुक्तानी सरकारले एक साताभित्रै तिर्न निर्देशनको ३ दिनमै ५ करोड ९४ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको हो ।

निर्जीवन बीमा कम्पनीहरुले गत बैशाखदेखि बिक्री गर्दै आएको कोरोना बीमा लेखमा बीमितले गरेको दावी भुक्तानी नभएको चौतर्फी गुनासो बढेको थियो ।

जनगुनासो सम्बोधन गर्न काक्तिक १८ गते अर्थमन्त्री बिष्णु पौडेलले बीमा समितिका प्रतिनिधिलाई मन्त्रालय बोलाएर एक साताभित्रै प्रक्रिया पुरा गरेर बक्यौता दावी भुक्तानी गर्न निर्देशन दिएका थिए ।

ततपछि सोही दिन समितिले बीमा कम्पनीहरुलाई बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम दावी गरेका सबै बीमितलाई एक हप्ताभित्रै भुक्तानी गर्न निर्देशन जारी गरेको छ ।

गत सातासम्म बीमा कम्पनीहरुले १ अर्ब २० करोड ३६ लाख रुपैयाँ दावी बक्यौता रहेको बीमा समितिद्वारा प्राप्त तथ्यांकले देखाउँछ ।

साता दिनभित्रै बक्यौता दावी भुक्तान गर्न निर्देशन पाएको भोलिपल्टसम्म कम्पनीहरुले १६ करोड २३ लाख रुपैयाँ दावी भुक्तानी गरेको नेपाल बीमक संघका प्रवक्ता चंकी क्षेत्रीले बताएका थिए ।

समितिद्वारा प्राप्त तथ्यांकअनुसार कात्तिक २१ गतेसम्म कम्पनीहरुले २२ करोड १८ लाख रुपैयाँ दावी भुक्तानी गरेको छन् । संघका प्रवक्ता क्षेत्रीको भनाइलाई आधार मान्दा कम्पनीहरुले ३ दिनमै ५ करोड ९४ लाख रुपैयाँ बढी कोरोना दावी भुक्तानी गरेका हुन् ।

त्यस अघिसम्म बीमा कम्पनीहरुले दावी भुक्तानी सरकारी ल्यावबाट आएका रिपोर्टका आधारमा मात्र गरिरहेका थिए । अर्थमन्त्री पौडेलको निर्देशन पछि कम्पनीहरुले निजी ल्याबबाट आएका रिपोर्टका दावी पनि भुक्तान गरेका हुन् ।

अर्थमन्त्रीको निर्देशन पाएको भोलिपल्टै बिमक संघले समितिलाई र समितिले स्वास्थ्य मन्त्रालयले निजी ल्याबबाट आएको रिपोर्टलाई प्रमाणिकरण गर्ने प्रक्रिया तिव्र पारेको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिएका थिए ।

यसैगरी हालसम्मको तथ्यांकअनुसार कम्पनीहरुले १ करोड ५६ हजार ५ सय ८७ जना बीमितको कोरोना बीमा गरी ९८ करोड ३३ लाख बढी प्रिमियम संकलन गरेका छन् । जसमा हालसम्म १६ हजार ६ सय ३५ जनाले बीमितले १ अर्ब ६० करोड २१ लाख रुपैयाँ दावी गरेका छन् ।

तर कम्पनीहरुले भने हालसम्म २ हजार ३ सय २० जना बीमितलाई २२ करोड १८ लाख रुपैयाँ दावी भुक्तानी गरेका छन् भने १४ हजार ३ सय १५ जना बीमितले १ अर्ब ८० करोड ३० लाख रुपैयाँ बढी दावी भुक्तान पाउन बाँकी नै छ ।

एक साताभित्रै कम्पनीहरुमा १७ करोड ६७ लाख रुपैयाँ बराबरको दावी परेको देखिन्छ । समितिद्वारा उपलब्ध तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको कोरोना बीमा दावी भुक्तानीको तथ्यांक समावेश भएको छैन ।


पुष्प दुलाल