लाइसेन्सको लिखित परीक्षा र ट्रायल तिहार लगत्तै



काठमाडौं । सवारी साधन चालक अनुमति पत्र लाइसेन्सको परीक्षा तिहार लगत्तै लिने तयारी गरिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले तिहार लगत्तै लाइसेन्सको परीक्षा खुलाउने तयारी भएको क्लिकमाण्डूलाई जानकारी दिए ।

उनका अनुसार लिखित र ट्रायल दुबै परीक्षा तिहार लगत्तै खुलाउने गरी बाग्मती प्रदेश यातायात कार्यालयले तयारी गरेका हुन् ।

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द भएको लाइसेन्सको परीक्षाका कारण सेवाग्राहीले सेवा लिन पाएका छैनन् ।

कोरोना महामारीका कारण हालसम्म पनि विद्यालय, सिनेमा हल, बार, क्लबलगायतका कैयन क्षेत्र खुल्न सकेका छैनन् । पछिल्लो समय काठमाडौंलगायतका स्थानमा कोरोना महामारीको जोखिम तीव्ररुपमा बढेपछि लाइसेन्सको परीक्षा अनिश्चित भएको थियो ।

कोरोना महामारीका कारण लाइसेन्सको परीक्षा रोकिए पनि यसबीचमा विभागले स्मार्ट लाइसेन्सको छपाइ कार्य भने बढाएको छ । विभागका अनुसार हालसम्म छपाइ हुन बाँकी रहेका अधिकांश स्मार्ट लाइसेन्सको छपाइ पूरा भइसकेको छ ।

यसअघि कोरोना महामारीबीच लुम्बिनि प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालय बुटवलले ड्राइभिङ लाइसेन्स लिनेहरुका लागि ट्रायल खुलाएको थियो ।

कार्यालयलले कार्तिक १९ गतेदेखि २३ गतेसम्म यसअघि लिखित परिक्षा पास गरिसकेकाहरुको प्रयोगात्मक परीक्षा अर्थात ट्रायल खुलाएको थियो ।


क्लिकमान्डु