७ दिनभित्र १ अर्ब २० करोड रुपैयाँ कोरोना बीमाको दावी भुक्तानी गर्न सरकारको निर्देशन



काठमाडौं । बीमा कम्पनीहरुले एक साताभित्रै १ अर्ब २० करोड रुपैयाँ बढी बक्यौता तिर्नु पर्ने भएको छ । अर्थममन्त्रालयले कोरोना बीमामा परेका बक्यौता दावी ७ दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको पछि बीमा कम्पनीहरुले सोको कार्यान्यवन गर्नु पर्ने बाध्यता भएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा मंगलबार बसेको बैठकमा बिमितहरुले बिमाङ्क रकम दावी गर्नसाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । साथै मन्त्री पौडेलले हालसम्म बक्यौता रहेको कोरोना दावी एक सातभित्र भुक्तानी गर्ने व्यवस्था मिलाउन पनि बीमा समितिलाई निर्देशन दिएका हुन् ।

यस्तै बैठकमा कोरोना बीमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ ।

बैठकमा अर्थ मन्त्रालयका शिशिरकुमार ढुङाना, राजस्व सचिव रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो ।

हालसम्म बीमा कम्पनीहरुमा १ अर्ब ३६ करोड रुपैयाँ बढी कोरोना बीमा दावी परिसकेको छ । जसमा बीमितले हालसम्म १६ करोड २३ लाख रुपैयाँ मात्र दावी भुक्तानी पाएको बीमा समितिले जनाएको छ ।

मन्त्रालयबाट आएको आदेशअनुसार बीमा कम्पनीहरुलाई दावी भुक्तानी गर्न निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘मन्त्रालयबाट पिसिआर रिपोट पोजेटिभ आएका सबै बीमितको दावी भुक्तानी गर्नु भनेर पत्र आएको थियो,’ कार्यकारी निर्देशक पौडेलले क्लिकमाण्डूसँग भने, ‘पत्रअनुसार समितिले कम्पनीहरुलाई ७ दिनभित्रै दावी भुक्तानी गरिसक्न निर्देशन दिएको हो ।’

कोरोना बीमा निर्देशिकामा तोकेका मापदण्डमा पुरा भएका बीमितलाई कम्पनीहरुले अबकोे सात दिनभित्र भुक्तानी गर्नु पर्ने पौडेलले बताए ।


पुष्प दुलाल