उद्योग वाणिज्य महासंघमा राजनीतिकाे क्यान्सर उन्मूलन गर्न मैले राेजेकाे टिम जिताउनोस्: शेखर गाेल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघभित्रको राजनीतिक क्यान्सरलाई उन्मूलन गर्नका लागि आफूले रोजेको टिमलाई जिताउन आग्रह गरेका छन् ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्धार किशोर प्रधानको टिमको मनोनयन दर्ता गर्न जानुअघि राजधानीको भिवान्ता होटेलमा भएको कार्यक्रममा गोल्छाले यस्तो बताएका हुन् ।

‘महासंघमा राजनीतिको क्यान्सर फैलिएको छ, अबको समयमा हामीले त्यो क्यान्सरलाई निकाल्न सक्नुपर्छ,’ महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकाललाई इंगित गर्दै गोल्छाले भने, ‘जो निर्वाचित व्यक्तित्व हुनुहुन्छ, उनीहरुले नै महासंघ हाँक्न सक्नुपर्छ, निर्वाचित नभएका कुनैपनि व्यक्तिको चलखेल हामी हुन दिँदैनौं ।’

निर्वाचितबाहेकका व्यक्तिको चलखेल भनेको विकृति भएको उनले दोहोर्याए । आफूहरुले पूर्वअध्यक्षहरुसँग सरसल्लाह गरेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

‘विषम परिस्थितिमा हामी पूर्वअध्यक्षहरुसँग सल्लाह गरेर मात्रै निर्णय गर्छौं,’ गोल्छाले भने, ‘तर महासंघ हाँक्ने भनेको हामी निर्वाचितहरुले नै हो ।’

निर्वाचित व्यक्तिहरुमा मात्रै मतदाताप्रति उत्तरदायी हुने उनको भनाइ छ ।

कुनै समस्या आयो भने त्यसलाई समाधान मात्रै गर्ने आफ्नो सोच नभएको उनले प्रष्ट पारे ।

‘म महासंघलाई नयाँ भिजनका साथ नयाँ बाटोमा दौडाउन चाहन्छु,’ उनले भने, ‘निजी क्षेत्रलाई कसरी मजबुत बनाउने, कसरी लगानीको वातावरण बनाउने र अर्थतन्त्रलाई कसरी माथि पुर्याउने भनेर मैले प्रष्ट योजना बनाएको छु, निर्वाचित कार्यसमितिको पहिलो बैठकमा मैले मेरो योजना पेश गर्नेछु । र, त्यहाँबाट अनुमोदान गराएर कार्यान्वयनमा लैजाने छु ।’

आफूले रोजेको टिम महासंघमा राजनीति गर्न नआएको उनले प्रष्ट पारे ।

‘हामी सबैजना महासंघलाई आफ्नो मन्दिर मान्छौं । र, त्यसै अनुसारले हामी निजी क्षेत्रको सेवा गर्छौं,’ उनले भने ।

इतिहासकै सबैभन्दा कठिन समयमा आफू महासंघको अध्यक्ष बन्न लागेको जानकारी दिँदै आफ्नो सफलताका लागि बरिष्ठ उापध्यक्षमा किशोर प्रधान, एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र उनीहरुको टिमलाई जिताउन आग्रह पनि गरे ।

‘यो टिमले जित्यो भने हामी देशको अर्थतन्त्र १० प्रतिशतले बढ्ने अवस्थामा ल्याउन सक्नेछौं भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘यो टिम जोस र होस दुबै भएको सबल टिम हो ।’

उद्योगी व्यवसायीका लागि सबैभन्दा ठूलो समस्या भनेको बैंकिङ क्षेत्रबाट भएको भन्दै त्यसका लागि आफूहरु कसैसँग नडराई व्यवसायीका पक्षमा भिड्ने उनले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्धार किशोर प्रधानले आफु २८ वर्ष यता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफु पुजारी बनेर पूजा गर्नका लागि पनि उम्मेदवारी घोषणा गरेको बताए ।

देशको अर्थतन्त्र जोगाउनका लागि पनि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने उनले बताए ।

‘भावी अध्यक्ष शेखर गोल्छालाई सहयोग गरी सफल बनाउँछौं,’ प्रधानले प्रतिवद्धता व्यक्त गरे ।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् ।

कार्यक्रममा वस्तुगततर्फका उपाध्यक्षका उम्मेद्धार अन्जन श्रेष्ठले यो कठिन परिस्थितमा शेखर गोल्छा नेतृत्वको टिम सफल भएर देखाउने जानकरी गराए ।

‘हाम्रा अध्यक्ष शेखर गोल्छाज्यूले महासंघलाई कसरी अघि बढाउने भनेर भिजन मिशन तयार पारिसक्नुभएको छ, हामी उहाँको त्यो भिजन मिशन सफल बनाउन अहोरात्र खट्नेछौं,’ श्रेष्ठले भने ।

त्यसैगरी, एसोसिएटतर्फका उपाध्यक्षका उम्मेद्धार सौरभ ज्योतिले यो टिम हातको औंला जस्तो नभई मुठ्ठीजस्तो एकत्रित र बलियो भएको दाबी गरे । जिल्ला नगरतर्फका उम्मेद्धार दिनेश श्रेष्ठले यो टिमले मात्रै जिल्ला नगरमा रहेर व्यवसाय गर्नेहरुका समस्या समाधान गर्न सक्ने दाबी गरे ।

महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिड १९ का कारण स्थगित भएको थियो ।


पुष्प दुलाल